
काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज साँझ ५ बजे बस्दैछ । बैठकमा प्रधानन्यायाधीशका कारण उत्पन्न संकट लगायत सरकार संचालनलाई चुतस्त र प्रभावकारी बनाउने विषयमा छलफल हुने भएको छ ।
दशैं–तिहारपछि बस्न लागेको सत्तारुढ गठबन्धनको बैठकले न्यायालयसम्बन्धी विवादको विषयमा छलफल गर्ने र विवादबारे आधिकारिक धारणा तय गर्ने बताइएको छ । गठबन्धनमा आवद्ध दलमध्ये प्रधानमन्त्री देउवा सभापति रहेको नेपाली कांग्रेस बाहेकका दल प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने विषयमा आधारभूत रुपमा तयार देखिन्छन् । तर, प्रधानमन्त्री देउवा भने यस विषयमा अहिले नै निर्णय नगरौं भन्ने पक्षमा छन् ।
नेकपा एकीकृत समाजवादीले यसअघि नै सत्तारुढ गठबन्धनबीच छलफल गरेर धारणा बनाउने औपचारिक निर्णय गरिसकेको छ । तर, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल (जसपा) र राष्ट्रिय जनमोर्चाले न्यायालय विवादबारे के गर्ने भन्ने विषयमा औपचारिक निर्णय केही गरेको छैनन् ।
समन्वय समिति बनाउने
आजको बैठकमा सरकार सञ्चालनमा सहयोग गर्न समन्वय समिति बनाउने विषयमा समेत छलफल हुनेछ । यसअघि, सत्तारुढ गठबन्धनमा आवद्ध दलका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने तयारी थियो । तर त्यसको विरोध भएपछि समन्वय समिति बनाउन लागिएको हो ।
प्रचण्ड देउवा भेट
गठबन्धनको बैठक बोलाउनु अघि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको थियो ।
बिहान बालुवाटारमा भएको छलफलपछि गठबन्धनको बैठक बोलाइएको हो । देउवा र प्रचण्डबीच न्यायालयमा देखिएको टकराव, गठबन्धन सरकारका काम र राजदूत नियुक्तिलगायतका विषयमा छलफल भएको थियो ।














