काठमाडौं । नेकपा (एमाले) को आगामी १०औँ राष्ट्रिय महाधिवेशनमा ०७७ चैतसम्म पार्टी सदस्यता लिएका संगठित सदस्य मात्र सहभागी हुन पाउने भएका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तर पार्टी निर्देशन– १४ मा ०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएका संगठित सदस्यले मात्र महाधिवेशन प्रतिनिधि हुन पाउने व्यवस्था गरिएको छ। ती प्रतिनिधिले महाधिवेशनमा मतदान गर्न पाउनेछन्।
एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार चैतसम्ममा सात लाख ३८ हजार पार्टी संगठित सदस्य रहेका थिए। अहिले नौ लाख संगठित सदस्य पुगेको उनको भनाइ रहेको छ। महाधिवेशनमा एक हजार ९९९ प्रतिनिधि सहभागी हुनेछन्।
एमालेले महाधिवेशनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गत एक हजार २०० पार्टी सदस्यबाट कम्तीमा एक महिलासहित तीनजनाका दरले प्रतिनिधि, त्यसपछि ८०० सम्मले थप एक–एकजना प्रतिनिधि निर्वाचित गर्नेछ। जनवर्गीय संगठनबाट पाँचजनाका दरले महाधिवेशन प्रतिनिधि हुनेछन्।
एमालेले यही कात्तिक २७ गते देशभर एकैसाथ प्रतिनिधि चयन गर्दै छ। प्रतिनिधि चयन गरिसकेपछि कात्तिक ३० गतेसम्म केन्द्रीय संगठन विभागमा पठाउन निर्देशन दिइएको छ। एमाले महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने भएको छ। महाधिवेशनका लागि रामबहादुर थापाको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको छ।














