काठमाडौं । नेकपा (एमाले) १०औं महाधिवेशनका लागि १९ जिल्लामा प्रतिनिधि छनौटमा विवाद भएको छ । आईतबार साझसम्ममा विवादकै कारण १९ जिल्लामा प्रतिनिधि छनौट हुन सकेको छैन ।
एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले ५८ जिल्लाका साथै जनसंगठन, विभाग तथा विशेष कमिटी तर्फका सबै प्रतिनिधि सहमतिमै चयन भएको बताए । प्रतिनिधि छनौट हुन बाँकी जिल्लाको समेत सोमबारसम्ममा सकिने उनले बताए ।
अहिले विभिन्न ठाउँमा सर्वसम्मत प्रतिनिधि छनौटका सूचना आईरहेको र कात्तिक ३० गते महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक गर्ने तयारी एमालेले गरेको छ ।
सदस्यता विवाद, प्रतिनिधि हुनेको नेताको संख्या बढी भएकाले कतिपय ठाउँमा निर्वाचनबाटै प्रतिनिधि छनौट भईरहेकाले केही ढिलाई भएको हो । एमालेले शनिबार देशैभरी एकै दिन महाधिवेशन प्रतिनिधि छनौट सुरु गरेको हो ।
उदयपुरमा एक, झापामा २, रुपन्देही २, नवलपरासी, भक्तपुर र ललितपुरका एक एक क्षेत्रमा निर्वाचन भएको छ । बाँकीमा सहमतिकै आधारमा प्रतिनिधिहरू चयन भएका भएको छ । यस्तै केही जिल्लामा सदस्यता विवाद समेत देखिएको छ ।
प्रदेश नम्बर १ को पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, मोरङ, धनकुटा, सोलुखुम्बू, ओखलढुंगा, उदयपुर, खोटाङ र भोजपुर, बागमती प्रदेशको दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, धादिङ, चितवन र मकवानपुरमा प्रतिनिधि छनौट भईसकेको छ ।
यस्तै, उपत्यका विशेष कमिटीतर्फ पेशागत, युवा विद्यार्थी, मजदुर र उद्योग व्यवसाय विशेष जिल्ला कमिटी, गण्डकी प्रदेशको गोरखा, लमजुङ, नवलपुर, तनहुँ, कास्की, स्याङजा, पर्वत, म्याग्दी, बागलुङ, मुस्ताङ र मनाङ, लुम्बिनी प्रदेशको गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान, रुकुम, रोल्पा, बाँके र बर्दिया जिल्लामा समेत प्रतिनिधि छनौट भईसकेको छ ।
कर्णाली प्रदेशको हुम्ला, डोल्पा, मुगु, कालिकोट, जुम्ला, जाजरकोट, रुकुमपश्चिम, सल्यान र सुर्खेत, सुदूरपश्चिम प्रदेशको दार्चुला, बैतडी, बझाङ र डडेल्धुरामा प्रतिनिधि चयन कार्य सम्पन्न भइसकेको छ भने कञ्चनपुर, कैलाली, अछाम, डोटी र बाजुराका केही क्षेत्रमा प्रक्रिया अझै जारी नै रहेको सचिव भट्टराईले जनाएका छन् ।
नेकपा केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले केन्द्रीय सल्लाहकार परिषद्, जनसंगठन, प्र्रदेश कमिटीहरु, प्रदेश सम्पर्क कमिटीहरु र प्रवास समन्वय कमिटीका साथै पार्टीका केन्द्रीय विभागहरु र केन्द्रीय कार्यालयबाट प्रतिनिधि चयन सम्पन्न भइसकेको बताए ।
‘देशैभरी एकैदिन महाधिवेशन प्रतिनिधि छनौट गर्ने कार्यक्रम अनुसार अधिकांश ठाउँमा सर्वसम्मत नै प्रतिनिधि छनौट भएको सूचना आएको छ’ तामाङले भने, ‘केही ठाउँमा निर्वाचनबाट समेत प्रतिनिधि छनौट भएका छन् ।’
एमालेको १०औं महाधिवेशनमा १९ सय ९९ प्रतिनिधि सहभागि हुदैछन् । दुई सय ६३ जना पदेन प्रतिनिधि रहेका छन् । १७ सय ३६ प्रतिनिधि बिभिन्न ठाउँबाट निर्वाचित भएर आउँनुपर्ने तामाङले बताए । केन्द्रीय कमिटीका सबै र अनुशासन आयोग बाहेक अन्य ठाउँमा निर्वाचित हुनुपर्ने हुन्छ ।
आउँदो १०, ११ र १२ मंसिरमा चितवनमा महाधिवेशन हुदैछ । ललितपुरको गोदावरीमा हालै सम्पन्न भएको एमालेको प्रथम विधान महाधिवेशनले पारित गरेको नयाँ विधानको व्यवस्था अनुसार दशौं राष्ट्रिय महाधिवेशनले अध्यक्ष, बरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव जना गरी १५ जना पदाधिकारीसहितको २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।
केन्द्रीय सदस्यमा खुलातर्फ ९८, समावेशीतर्फ ६६ र भूगोलतर्फ ४६ जना गरि २ सय १० जना केन्द्रीय सदस्य निर्वाचित गर्ने छ । यसैगरी महाधिवेशनले १५ सदस्यीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगको पनि चयन गर्नेछ । एक तिहाई महिलासहित नेपालको सामाजिक र वर्गीय विविधताको प्रतिनिधित्व हुने गरी केन्द्रीय कमिटी समावेशी गर्ने व्यवस्थामा विधान छ ।
एमालेले १० मंसिरमा नारायणी नदीको किरानामा उद्घाटन र सौराहामा नेतृत्व छनोटका लागि बन्दसत्र सञ्चालन गर्ने तयारी गरेको छ । ११ गते मनोनयन र प्रतिनिधिहरुलाई इभिएम मतदान गर्न अभ्यास र १२ गते मतदान हुने मुल व्यवस्थापन समितिका सदस्य एवं एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बताईन् ।











