काठमाडौं । नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल फेरि अनिर्णयमा परेको छ। सहमति जुट्न नसकेपछि कार्यदलका संयोजक तथा पार्टी उपाध्यक्ष रामबहादुर थापा (बादल)अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डु पुगेका छन्।

यसअघि शनिबार र आइतबार काभ्रेको बल्थलीमा सम्पन्न कार्यदलको आवासीय बैठकले पेस भएका फरक(फरक प्रतिवेदनलाई एउटै बनाउन तीन सदस्यीय समिति गठन गरेको थियो। उक्त समितिको जिम्मेवारी कार्यदल संयोजक बादलसहित उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेललाई दिइएको थियो।
सोही कामका लागि बुधबार अपराह्न च्यासलस्थित पार्टी कार्यालयमा उनीहरूबीच करिब दुई घण्टा छलफल भएको थियो। तर, दुई फरक प्रतिवेदनलाई एउटै बनाउने विषयमा सहमति जुट्न नसकेपछि संयोजक बादल अध्यक्ष ओलीलाई भेट्न गुण्डु गएका हुन्।
एमाले कार्यालय स्रोतका अनुसार, उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले प्रतिवेदनमा ‘पुनर्गठन’ शब्द हटाउनुपर्ने र ‘नेतृत्वले मार्गप्रशस्त गर्नुपर्ने’ जस्ता विषय उल्लेख गर्न नचाहेपछि कुरा नमिलेको हो।
बुधबार प्रतिवेदनलाई एउटै बनाएर बिहीबार कार्यदलको बैठक बस्ने तयारी थियो। तर, प्रतिवेदनको मूल विषयमै कुरा नमिलेपछि संयोजक बादलले बिहीबारको बैठक बोलाउन चाहेनन्। स्रोतका अनुसार सोही विषयमा निकास खोज्न उनी गुण्डु पुगेका हुन् भने उपाध्यक्ष पौडेल र महासचिव पोखरेल उनीसँग गएका छैनन्।















