Logo
Logo

त्रिविको जागिर पदाधिकारी र नेताका नातेदारलाई


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ वैशाख ।
त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको खुला प्रतिस्पर्धामा त्रिविकै उच्च पदाधिकारी, विद्यार्थी संघ–संगठन र नेताका नातेदारको नाम निस्किएको छ। लिखित परीक्षामा उत्तीर्ण हुनेमा धेरैजसो पहुँचवालाका आफन्त परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको छ ।

त्रिविका कर्मचारी संघ संगठन र परीक्षामा सहभागी केही विद्यार्थीले आयोग, केन्द्र, कुलपति, उपकुलपति कार्यालयलगायत त्रिविकै विभिन्न निकायमा उजुरी दिएका थिए। स्रोतका अनुसार त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्य शर्मा, प्रमुख परशुराम कोइराला, त्रिवि केन्द्रीय क्याम्पसका प्रिन्सिपल कृष्ण आचार्य, पूर्वरजिस्ट्रार चन्द्रमणि पौडेल, अनुगमन महाशाखाका प्रमुख विष्णुप्रसाद खनाललगायत उच्च पदाधिकारीका नातेदार सफल भएका छन्। आयोग कार्यालयबाट प्राप्त एक सूचीमा अध्यक्ष शर्माकी भतिजी पार्वती सापकोटाको नाम शाखा अधिकृत र मुख्य कार्यालय सहायक दुवै पदमा निस्केको छ।

उनले भतिजीसहित भनसुनका आधारमा अन्य आफन्त र चिनजानका व्यक्तिको समेत नाम निकाल्न सफल भएको स्रोतको दाबी छ। त्यस्तै आयोगका प्रमुख कोइरालाकी छोरी नमिता अधिकृतमा पास भएकी छिन्। ‘आफ्ना नातागोता वा परिवारका सदस्यले परीक्षा दिने भए नीति नियम, मर्यादा र परम्पराका हिसाबले सम्बन्धित पदाधिकारी सहभागी हुन पाउँदैनन्’, त्रिविका एक प्राध्यापकले भने, ‘सेवा आयोगका अध्यक्ष र प्रमुख नै परीक्षामा सहभागी हुनुहुन्छ, उहाँहरूका नातेदारले सक्षम भएरै नाम निकालेको भए पनि यो गैरकानुनी हो। आजका कान्तिपुर दैनिकमा समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्