Logo
Logo

अमेरिकी चुनावमा नेपाली: डा. ह्यारी भण्डारी जीतको ह्याट्रिक नजिक


0
Shares

न्युयोर्क । अमेरिकामा सम्पन्न निर्वाचनमा नेपाली मूलका पहिलो राज्य विधायिका डा. ह्यारी भण्डारी जीतको ह्याट्रिक पूरा गर्ने नजिक पुगेका छन्।

मेरिल्याण्डको क्षेत्र नं. ८ (District 8) बाट तेस्रो कार्यकालका लागि डेमोक्रेटिक पार्टीका उम्मेदवार रहेका उनी ७२ प्रतिशत मत गणना भइसक्दा १९,५३० मतका साथ दोस्रो स्थानमा रहेका छन्। उनलाई पछ्याइरहेका डेमोक्रेटिक उम्मेदवार निक एलन १९,८६० मतका साथ पहिलो स्थानमा छन् भने तेस्रो स्थानमा रहेकी डेमोक्रेटिक पार्टीकै उम्मेदवार किम रसले १९,३४८ मत प्राप्त गरेकी छन्।

यस निर्वाचन क्षेत्रबाट सबैभन्दा बढी मत ल्याउने माथिल्लो तीन जना उम्मेदवार निर्वाचित हुने प्रावधान छ। यी तीनै जना उम्मेदवार बहालवाला विधायक (Delegates) हुन्।

शीर्ष तीनमा रहेका डेमोक्रेटिक उम्मेदवारहरूलाई पछ्याइरहेका रिपब्लिकन उम्मेदवारहरू भने निकै पछाडि छन्। चौथो स्थानमा रहेका ब्रायन क्याम्पेनले १०,१३६, पाँचौँ स्थानमा रहेका ग्लेन गिलहारले ९,२३३ र छैटौँ स्थानमा रहेका स्टिभन जे. रिमरले ९,१९९ मत प्राप्त गरेका छन्। अब गन्न बाँकी सबै मत रिपब्लिकन उम्मेदवारहरूले पाए तापनि अगाडि रहेका तीन जना डेमोक्रेटिक उम्मेदवारलाई भेट्न असम्भव देखिन्छ।

दोस्रो स्थानमा रहेका डा. भण्डारी र चौथो स्थानमा रहेका ब्रायनबीच ९,३९४ मतको मतान्तर छ, जुन लगभग दोब्बर हो। डा. भण्डारी पहिलो स्थानमा रहेका निक एलनभन्दा केवल ३३० मतले मात्र पछाडि छन्। त्यसैले सन् २०२२ को निर्वाचनमा जस्तै यसपटक पनि उनले पहिलो स्थानमै जीत हासिल गर्ने सम्भावना कायमै छ।

अमेरिकामा नेपाली जनसंख्या बढेसँगै यहाँको मूलधारको राजनीतिमा प्रवेश र प्रभावकारी उपस्थिति आवश्यक रहेको पैरवी गर्ने प्रमुख अभियानकर्ता हुन्— डा. ह्यारी भण्डारी। उनले सन् २०१४ मा मेरिल्याण्ड राज्यको विधानसभा क्षेत्र नं. ८ बाट डेमोक्रेटिक पार्टीको ‘प्राइमरी’ निर्वाचनमा उम्मेदवारी दिँदै आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए। पहिलो प्रयासमा असफल भए पनि उनले सन् २०१८ को निर्वाचनमा डेमोक्रेटिक प्राइमरी मात्र नभई आमनिर्वाचन (General Election) नै जितेका थिए।

यो ऐतिहासिक जीतसँगै डा. भण्डारीले अमेरिकामा नेपाली समुदायका लागि राज्य विधानसभाको ढोका खोलेका थिए। यसका साथै अमेरिकाको इतिहासमै पहिलो नेपाली मूलका राज्य विधायक (Assembly Delegate) बन्ने कीर्तिमान पनि उनकै नाममा दर्ता भएको छ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000