पाेखरा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवा पार्टी चलाउन नसकेको बताएका छन् ।
मंगलबार पोखरामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंले भने, ‘१३औं महाधिवेशनपछि सभापति भएर शेरबहादुर देउवाजीले पार्टी चलाउन सक्नुभएको छ ? छैन ।’
उनले विधिसंगत पार्टी चलाउने कि नचलाउने भन्दै प्रश्न उठाए । परीक्षण भइसकेर असफल भएका नेतालाई जिताउन नहुने उनले बताए । पार्टी र राज्य सत्ता आफ्नो हातमा छ भनेर सन्तुलन विगार्न नहुने सिंहको भनाइ छ ।
पार्टीमा भरपर्दाे नेता भएन भने प्रजा परिषद्को हालतमा पुग्ने उनको चेतावनी छ । संस्थागत रुपमा अघि बढ्नका लागि आफ्नो पहल रहेको उल्लेख गर्दै सिंहले सभापतिमा उम्मेदवार दिने अडान दोहोर्याए ।












