काठमाडौं । नेपाली कांग्रेसले विदेशस्थित नपाली जनसम्पर्क समितिहरुलाई तत्काल अधिवेशन गर्न निर्देशन दिएको छ ।
आइतबार बसेको केन्द्रीय कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण भइसकेका सातवटा देशस्थित जनसम्पर्क समितिहरुलाई तत्काल अधिवेशनको मिति प्रस्ताव गर्न निर्देशन दिएको हो ।
क्रियाशील सदस्यताको नामावलीको सूची र रकम लगायतका विवरण केन्द्रमा पेश गरिसकेका आयरलैण्ड, फ्रान्स, नेदरल्याण्ड, बेलायत, साइप्रस, पोर्चुगल र क्यानडामा रहेका नेपाली जनसम्पर्क समितिलाई अधिवेशनको मिति प्रस्ताव गर्न निर्देशन दिइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
त्यस्तै, अष्ट्रेलिया र डेनमार्कको क्रियाशील सदस्यता स्वीकृत गर्ने, इजरायल र पोर्चुगलको संशोधित विधान स्वीकृत गर्ने निर्णय गरेको छ ।
त्यस्तै, कांग्रेसले क्रियाशील सदस्यताको नामावली, सदस्यता शुल्क र सहयोग रकम (लेवी) लगायतको विवरण पठाउन बाँकी रहेका जनसम्पर्क समितिहरुलाई एक हप्ताभित्र पठाउन निर्देशन गरेको छ ।
कांग्रेसको विधानमा अधिवेशन गरेका जनसम्पर्क समितिहरुले मात्रै पार्टीको केन्द्रीय महाधिवेशनमा भाग लिन पाउने व्यवस्था छ ।












