Logo
Logo

एमाले र माओवादी रफ्तारमा, कांग्रेसलाई तालिका प्रभावित हुने डर



काठमाडौं । प्रमुख तीन दल राष्ट्रिय महाविधेशन तथा सम्मेलनको पूर्वतयारीमा जुटेका छन् । नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले नेतृत्व चयनका लागि महाधिवेशन तथा सम्मेलन गर्दैछन् । महाधिवेशन तथा सम्मेलनका लागि तीनै दल टोल, वडा, पालिका, प्रदेशको अधिवेशन तथा सम्मेलन गरिरहेका छन् ।

एमालेले मंसिर १०–१२ मा चितवनमा, कांग्रेसले मंसिर २४–२६ मा काठमाडौंमा र माओवादी केन्द्रले पुस ११–१३ मा काठमाडौंमा महाधिवेशन गर्दैछ । एमालेले वडा र पालिकास्तरको अधिवेशन गरिसकेको छ । महाधिवेशन प्रतिनिधिसमेत लगभग चुनिसकेको एमाले चितवनमा हुने केन्द्रीय महाधिवेशनको व्यवस्थापनमा जुटेको छ ।

महाधिवेशन मिति नजिकिँदै जाँदा एमाले, कांग्रेस, माओवादीमा नेतृत्वका लागि शीर्ष नेताहरु आन्तरिक जोडघटाउमा जुटेका छन् । गुटगत भेला, बैठक, छलफललेसमेत निरन्तरता पाएको छ । जिल्लादेखि केन्द्रसम्मका होटलका साथै नेताहरुको घरमा गुटगत छलफलले तीब्रता पाएको छ ।

नेतृत्व हत्याउन पुराना गुट भत्किने तथा नयाँ गुट निर्माणले तीब्रता पाएको छ । तीन वटै दलमा रहेका पुराना गुटहरु भत्किदै गएको र नयाँ गुट निर्माण भइरहेको छ । गुट निर्माणमा एमाले र कांग्रेस अगाडि देखिएको छ । तुलनात्मक रुपमा माओवादी केन्द्रमा गुट कम छ । तर केन्द्रमा एउटै गुट भए पनि तल्लातिर दोस्रो तहका नेताहरुको आ–आफ्नो गुट भने सक्रिय देखिन्छ ।

एमालेको तयारी अन्तिम चरणमा
प्रमुख प्रतिपक्षी दल एमालेले मंसिर १०–१२ मा चितवनमा १०औं महाधिवेशन गर्दैछ । एमालेले वडा र पालिकास्तरको अधिवेशन गरिसकेको छ । महाधिवेशन प्रतिनिधिसमेत कार्तिक २७ गते चुनिसकेको एमाले चितवनमा प्रतिनिधि व्यवस्थापनको तयारीमा जुटेको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले महाधिवेशनको पूर्व तयारी अन्तिम चरणमा भएको बताए । तल्लो तहको कमिटीको अधिवेशन सकिसकेको र महाधिवेशन प्रतिनिधिसमेत चुनिसकिएको बताउँदै उनले अब चितवनमा आन्तरिक व्यवस्थाका लागि जुटेको बताए । होटलहरु बुक भइसकेको र उद्घाटन हुने ठाउँमा गर्नुपर्ने तयारी तीब्र रुपमा भइरहेको बताउँदै उनले उद्घाटनमा पाँच लाखभन्दा बढी जनतालाई सहभागी गराउने तयारी गरिएको जानकारी दिए ।

एमाले अध्यक्षका लागि केपी शर्मा ओलीका साथै उपाध्यक्ष भीम रावल वा उपमहासचिव घनश्याम भुसालले प्रतिस्पर्धा गर्ने भएका छन् । एमाले भित्र वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवका आकांक्षी अत्यधिक रहेका छन् ।

एमालेको १०औं महाधिवेशनमा १९ सय ९९ प्रतिनिधि सहभागि हुँदैछन् । दुई सय ६३ जना पदेन प्रतिनिधि रहेका छन् । १७ सय ३६ प्रतिनिधि विभिन्न क्षेत्रबाट निर्वाचित भइसकेका छन् । केही जिल्लामा विवाद देखिएको छ भने केही जिल्लामा मनोमानी रुपमा प्रतिनिधि चयन गरिएको भन्दै भाँडभैलो भएको छ ।

ललितपुरको गोदावरीमा हालै सम्पन्न प्रथम विधान महाधिवेशनले पारित गरेको नयाँ विधानको व्यवस्थाअनुसार १०औंं राष्ट्रिय महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव गरी १५ जना पदाधिकारीसहित २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।

केन्द्रीय सदस्यमा खुलातर्फ ९८, समावेशीतर्फ ६६ र भूगोलतर्फ ४६ जना गरी २ सय १० जना केन्द्रीय सदस्य निर्वाचित गर्नेछ । यसैगरी, महाधिवेशनले १५ सदस्यीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगको पनि चयन गर्नेछ । एक तिहाई महिलासहित नेपालको सामाजिक र वर्गीय विविधताको प्रतिनिधित्व हुने गरी केन्द्रीय कमिटी समावेशी गर्ने व्यवस्थामा विधान छ ।

एमालेले १० मंसिरमा नारायणी नदीको किरानामा उद्घाटन र सौराहामा नेतृत्व छनोटका लागि बन्दसत्र सञ्चालन गर्ने तयारी गरेको छ । ११ गते मनोनयन र प्रतिनिधिहरुलाई मतदान गर्न अभ्यास र १२ गते मतदान हुने मुल व्यवस्थापन समितिका सदस्य एवं एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिए । एमालेले पहिलो पटक महाधिवेशनमा इलेक्टोनिक भोटिङ मेसिनद्धारा मतदानको व्यवस्था गर्दैछ ।

तयारी नपुग्दा निर्धारित मिति प्रभावित हुने डर
निर्धारित मितिमा नै महाधिवेशन भए सत्तारुढ नेपाली कांग्रेसले अबको एक महिनापछि नयाँ नेतृत्व पाउनेछ । कांग्रेसको नयाँ नेतृत्व चयन गर्न मंसिर २४ देखि २६ सम्म काठमाडौंमा १४औं महाधिवेशन तय भएको छ । यस अघि पटक–पटक मिति सारेको कांग्रेस अब मिति हेरफेर गर्न नपर्नेगरी महाधिवेशनको तयारीमा जुटेको छ ।

कांग्रेसभित्र अध्यक्षका लागि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, कृष्ण सिटौला, कल्याण गुरुङ, डा. शशांक कोइराला, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, डा. शेखर कोइराला, सुजाता कोइराला लगायत आकांक्षी छन् । उनीहरु आ–आफ्नै तरिकाले तयारीमा लागेका छन् ।

कांग्रेसभित्र नेतृत्वका लागि पुराना गुट भत्कने र नयाँ गुट बन्ने क्रमले तीब्रता पाएको छ । वडा, पालिका, जिल्ला स्तरको अधिवेशन गरिसकेको कांग्रेसले विवादित जिल्लामा अधिवेशन गर्दैछ । कांग्रेसले महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न भन्दै विभिन्न समिति गठन गरिसकेको छ ।

कांग्रेसले महाधिवेशन प्रतिनिधि क्षेत्रीय अधिवेशनबाटै छनोट गर्छ । आफ्ना सदस्यहरूमध्येबाट महाधिवेशनका लागि कम्तीमा दुई महिला, एक दलित, एक आदिवासी जनजाति, एक मधेशी वा मुस्लिम वा अल्पसंख्यक वा पिछडिएको वर्गसहित एघार जना प्रतिनिधिको निर्वाचन गर्नेछ । क्षेत्रीय सभापति महाधिवेशनको पदेन प्रतिनिधि हुने र निजलाई महाधिवेशन प्रतिनिधिसरह अधिकार हुने व्यवस्था कांग्रेसको विधानमा रहेको छ ।

कांग्रेस विधानमा केन्द्रीय सभापति निर्वाचित हुनका लागि पन्ध्र वर्ष पार्टीमा काम गरेको हुनुपर्ने व्यवस्था छ । यस्तै, केन्द्रीय कम्तिमा दश वर्ष निरन्तर पार्टीमा काम गरेका केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट केन्द्रीय कार्यसमितिका लागि एक महामन्त्री र एक कोषाध्यक्ष निर्वाचित हुनेछन् ।

केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्यमध्येबाट सभापतिले प्रस्ताव गरी निर्वाचित सदस्यको बहुमतले अनुमोदन गरेको उपसभापति एक, महामन्त्री एक र सह–महामन्त्री एक हुने व्यवस्था रहेको छ ।

यसैगरी, २६ जना खुल्लातर्फका केन्द्रीय सदस्य, ६ जनामा महिला, सात वटै प्रदेशबाट दुई महिला सहिच चार गरी २८ जना, महिला, दलित, आदिवासी जनजाती, खसआर्य, मधेसी, थारु, मुस्लिम प्रत्येक समुदायबाट कम्तीमा तीन जना सदस्य हुने गरी ४३ जना निर्वाचित हुनेछन् भने जम्मा केन्द्रीय सदस्यको २५ प्रतिशत सभापतिको प्रस्तावमा केन्द्रीय कमिटीले मनोनित गर्न सक्नेछ । मनोनित गर्दा संविधानको व्यवस्था अनुसार केन्द्रीय कमिटीमा निर्वाचित हुन नसकेका समुदाय तथा क्षेत्रअनुसार गर्नुपर्ने कांग्रेसको विधानमा रहेको छ ।

कांग्रेसको प्रतिनिधि चयनको क्रम जारी छ । अहिलेकै गतिमा मात्र काम हुने हो भने कांग्रेसले यसपटक पनि तोकिएको समयमा महाधिवेशन सम्पन्न गर्न हम्मेहम्मे पर्ने देखिन्छ । तर, संवैधानिक व्यवस्था र पार्टीको विधानकै जटिलताका कारण कांग्रेस जसरी पनि महाधिवेशन गर्नुपर्ने दबाबमा छ ।

घोसित मितिमा नै काम सक्न रफ्तारमा माओवादी
सत्तारुढ माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११ देखी १३ गतेसम्म काठमाडौंमा हुँदैछ । राष्ट्रिय सम्मेलनका लागि वडा सम्मेलन सकेको छ भन्ने पालिका अधिवेशन गर्दैछ । पालिका अधिवेशन सम्पन्न भएसँगै प्रदेश सम्मेलन सकेर माओवादीले केन्द्रीय सम्मेलन गर्नेछ ।

माओवादीको केन्द्रीय सम्मेलनबाट अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव सहित २९९ सदस्यीय केन्द्रीय समिति चयन हुने व्यवस्था विधानमा उल्लेख गरिएको छ ।

केन्द्रीय समितिको कूल सदस्य संख्याको बढीमा एकतिहाई सदस्य रहेको पोलिट्ब्युरो, पोलिट्व्यूरोको कूल सदस्यको बढीमा एकतिहाई सदस्य रहेको स्थायी समिति र दैनिक कार्य सञ्चालनका लागि अध्यक्षको नेतृत्वमा उपाध्यक्ष र महासचिव सहितको आवश्यक संख्यामा एक केन्द्रीय कार्यालय रहने व्यवस्था माओवादीले विधानमा गरेको छ ।

यस्तै, केन्द्रीय कार्यालयको दैनिक प्रशासनिक कार्यहरु सम्पादन गर्नका लागि महासचिवको नेतृत्वमा उपमहासचिव, सचिव समेतको एक केन्द्रीय सचिवालय गठन हुन्छ ।

माओवादीले कात्तिक २७ गते एकैदिन टोल भेला सम्पन्न गरिसकेको छ । सबै टोल भेलामा सर्वसम्मतिले नेतृत्व चयन गरिएको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बताए ।

‘मंसिर ४ गते वडा सम्मेलन, मंसिर १५ गते पालिका सम्मेलन र मंसिर २५ गते प्रदेश सम्मेलन गर्ने भनिएको छ’ सचिव ढकालले भने, ‘वडा, पालिका र प्रदेश सम्मेलन गर्न निर्वाचन समितिले काम गरिरहेको छ । एकैदिन वडा, पालिका र प्रदेश सम्मेलन सर्वसम्मतिले चयन गरिने छ । वडा, पालिका र प्रदेश सम्मेलनबाट नेतृत्वमा आउन चाहनेबीच सर्वसम्मत नभएमा निर्वाचन हुन सक्छ ।’

माओवादी केन्द्रले सकेसम्म नेतृत्वमा सर्वसम्मत गर्न तल्ला समितिलाई निर्देशन दिएको छ । ‘हामीले वडा, पालिका र प्रदेश तहमा आउने कमरेडहरुलाई सकेसम्म सर्वसम्मत गर्नुस् भनेका छौं । यसो हुँदा सबैलाई मान्ने हुने नेतृत्वमा आउनु हुनेछ’ उनले भने, ‘सर्वसम्मत आउनै सक्ने अवस्था भएन । प्रतिस्पर्धान नै गर्नुपर्ने भएमा मिति नै तोकेर निर्वाचनबाट नेतृत्वमा आउनु हुनेछ ।’

पार्टीको वडा, पालिका र प्रदेश सम्मेनल तयारी गर्न माओवादी केन्द्रका नेताहरु जिल्ला, पालिका र गाउँ केन्द्रित भएका छन् । माओवादीका नेताहरु प्रायः उपत्यका बाहिर भएकाले यसअघि केन्द्रीय समिति बैठकसमेत जुममार्फत् भर्चूअल्ली भएको थियो ।

माओवादीको राष्ट्रिय सम्मेलनमा १५ सय भन्दा बढी प्रतिनिधि सहभागि हुनेछन् । पार्टी केन्द्रीय समितिका साथै आयोगहरुबाट पदेन प्रतिनिधि हुनेछन् भने एक हजारभन्दा बढी प्रतिनिधि विभिन्न क्षेत्रबाट निर्वाचित भएर आउँनुपर्ने हुन्छ । ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलितका लागि माओवादीले कोटा नै निर्धारण गरिसकेको छ । प्रतिनिधि चयन गर्दा समावेशी रुपमा छनोट गर्नुपर्ने माओवादीले विधानमै व्यवस्था गरेको छ ।

संगठन विभागको बैठक मंसिर २ र ३ गते काठमाडौंमा बस्दैछ । सो बैठकले सदस्यका आधारमा प्रतिनिधिका लागि मापदण्ड बनाउँने स्थायी समिति सदस्य गणेश साहले बताए ।

प्रतिक्रिया दिनुहोस्