Logo
Logo
कला

‘विग फ्यान हुँ भन्दै म्यासेसहरू आउँछ’



बाँके कोहलपुरकी करिश्मा सिंह ठकुरी नृत्यमै भविष्य देख्छिन् । फिल्मको हिरोइन बन्ने उनलाई रहर छैन । ब्याचलर तेस्रो वर्षमा अध्ययनरत करिश्मा भन्छिन्, ‘मेरो उद्देश्य भनेको कुसल कोरियोग्राफर बन्ने हो ।’ करिश्मा व्यवसायी नृत्यकार हुन् । विभिन्न म्युजिक भिडियो तथा स्टेज कार्यक्रमहरुमा आफ्नो कला प्रस्तुत गर्दै आएकी करिश्माको आफ्नै डान्स स्टुडियो छ । कोहलपुरमै बसेर चार वर्षदेखि कलाकारिता गर्दै आएकी करिश्मा आगामी दिनमा काठमाडौं आएर सेटल हुने सोचमा छिन् । उनी भन्छिन्, ‘टाढा भएकाले मोडलिङका लागि आएका प्रस्तावहरू गुमाउनुपरेको छ । त्यसैले अब काठमाडौंमै सेटल हुनुपर्ला ।’ मोडल तथा नृत्यकार करिश्मा सिंह ठकुरीसँग दृष्टिको जम्काभेट :

नृत्य क्षेत्रमा कसरी प्रभावित हुनुभयो ?

मैले प्लस-२ सकेपछिमात्र नृत्य गर्न थालेकी हुँ । त्यसभन्दाअघि मलाई नृत्यमा खासै रुची थिएन । तर, जब प्लस–२ सकाएपछि लोकल डान्स प्रतियोगिताहरूमा सहभागी भएँ । कतिपय प्रतियोगिता जितेँ पनि । त्यसपछि मलाई डान्सप्रति मोह जाग्यो र हौसला पनि बढ्यो ।

मोफसलमा व्यवसायी डान्सर तथा मोडललाई कतिको सहज छ ?

कोहलपुरमा मेरो डान्स स्टुडियो पनि छ । मेरो पढाइ पनि छ । त्यसैले चाहेर पनि काठमाडौंमा आएर सेटल हुन सकेकी छैन । तर, आगामी दिनमा काठमाडौंमै आफूलाई सेटल गर्ने सोच बनाएकी छु । कलाकारका लागि काठमाडौं सेन्टर हो । मोसफलमा त जति गर्छु भनेपनि आफूलाई सेटल गर्न गाह्रो छ ।

मोडलिङका लागि काठमाडौं नै आउनुपर्छ र ?

हो, म्युजिक भिडियोका लागि अफर आयो भने काठमाडौं आउने गरेकी छु । तैपनि काठमाडौंमै बसेजस्तो हुन्न । म टाढा छु । त्यसैले प्रस्ताव आएका सबै भिडियो गर्न सकेकी छैन । अर्को कुरा, अहिले मोडल पनि प्रसस्त छन्, जसले गर्दा कसैले पर्खँदैन । त्यसकारण पनि म्युजिक भिडियोहरू मेरो हातबाट उम्किरहेको छ ।

मोडलिङ सुरु गर्नुभएको कति भयो ?

तीन वर्ष भयो । जब डान्सबाट आफूलाई चिनाएँ, त्यसपछि म्युजिक भिडियोहरुमा प्रस्ताव आउन थाल्यो । मैले लोकल कलाकारको गीतको भिडियोबाटै मोडलिङ सुरु गरेकी हुँ ।

हिजोआज केमा व्यस्त हुनुहुन्छ ?

म स्कुलमा डान्स पनि सिकाउँछु । फाट्टफुट्ट म्युजिक भिडियोको काम गरिरहेकी छु । त्यसबाहेक मेरो आफ्नै डान्स स्टुडियो छ । पढाइ त छदैछ । यसरी नै व्यस्त भइदोरहेछ ।

फिल्मतिर जाने सोच बनाउनुभएको छैन ?

मलाई फिल्मको हिरोइन बन्ने मोह छैन । तैपनि राम्रो व्यानरको फिल्मका लागि प्रस्ताव आयो भने गर्न सक्छु किनकि, कलाकार भइसकेपछि यो गर्छु र त्यो गर्दिनँ भन्नु हुुन्न भन्ने मेरो मान्यता हो ।

कस्तो फिल्ममा अभिनय गर्नुहुन्छ ?

मलाई सुट हुने र शतप्रतिशत दिन सक्छु भन्ने कथावस्तु भएको फिल्मका लागि प्रस्ताव आयो भने अभिनय गर्न तयार छु । तर, फिल्म नै खेल्छु भनेर आफैँ खोजेर जान्न ।

नृत्य क्षेत्रको भविष्य कस्तो देख्नुहुन्छ ?

प्यासनको रुपमा लिएर निरन्तरता दिन सक्यो भने भविष्य राम्रो देख्छु किनकि, पहिलेभन्दा अहिले डान्सरलाई हेर्ने दृष्टिकोण पनि सकरात्मक बन्दै गएको छ । आफूले राम्रो ग¥यो भने हरेक क्षेत्रमा सकरात्मक प्रतिक्रिया पाइने रहेछ । सुरुमा यो क्षेत्रमा पाइला राख्दा मलाई घरपरिवारबाटै सहयोग थिएन । अहिले नृत्यबाटै आफूलाई चिनाएकी छु । सहयोग पनि पाउन थालेकी छु ।

जिमको आवश्यकता किन प¥यो ?

त्यस्तो खास विशेष कारण छैन् । आफूलाई स्वस्थ्य र फिट राख्न मात्र हो । ज्यान फिट भयो भने आफूलाई हरेक क्षेत्रमा फिट राख्न सकिन्छ ।

तपाइँको भविष्यको लक्ष्य के हो ?

कुशल कोरियोग्राफर बन्ने । त्यसबाहेक राष्ट्रिय र अन्तर्राष्ट्रिय डान्स प्रतियोगितामा सहभागी भएर नेपाललाई डान्सबाटै चिनाउने मेरो इच्छा छ ।

व्यक्तिगत प्रश्न, तपाइँ फिट र सुन्दर हुनुहुन्छ । केटाहरू कतिको पछि लाग्छन् ?

त्यो सामान्य नै हो । त्यसमाथि कलाकार भइसकेपछि ‘म तपाइँको बिग फ्यान’ भन्दै म्यासेसहरू आउँछ । कसैले ‘तिमी राम्री छौँ, मनप¥यो’ भनेर पनि म्यासेस गर्छन् । तर, त्यसलाई कसरी लिने भन्ने आफूमा भरपर्ने कुरा हो । कसैले मेरो सुन्दरताको प्रसंशा ग¥यो भने त्यसलाई नकरात्मक रुपमा लिन्न ।

प्रतिक्रिया दिनुहोस्