काठमाडौं । नेपाली कांग्रेसले आज विभिन्न जिल्लामा बाँकी रहेका प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गर्दैछ । आज वडा, पालिका र प्रदेश सभा क्षेत्रीय अधिवेशन सकेका स्थानमा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गर्न लागेको हो ।
यो अधिवेशनबाट प्रतिनिधि सभा क्षेत्रमा क्षेत्रीय सभापतिसहित कार्यसमिति र सदस्यहरू चुनिनेछन् । यस्तै अधिवेशनबाट केन्द्रीय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन गरिँदैछ ।
कांग्रेसमा एक प्रतिनिधि सभा क्षेत्रबाट २६ जना महाधिवेशन प्रतिनिधि केन्द्रमा आउँछन् । तिनै महाधिवेशन प्रतिनिधि मध्येबाट कांग्रेस पदाधिकारीदेखि केन्द्रीय सदस्य हुन्छन् । बहालवाला केन्द्रीय सदस्य तथा पदाधिकारी भने महाधिवेशनबाट आइराख्नुपर्दैन स्वतः महाधिवेशन प्रतिनिधि हुन्छन् भने वैकल्पिक केन्द्रीय सदस्य भने महाधिवेशन प्रतिनिधि चुनिएरै आउनुपर्ने व्यवस्था छ ।
यसअघि १४ जिल्लामा जिल्ला अधिवेशन गरिसकेको छ । यी जिल्लामा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन भई कार्यसमिति र प्रतिनिधि पनि चुनिइसकेका छन् । आज ६० जिल्लाका १४८ प्रतिनिधि सभा क्षेत्रमा अधिवेशन हुन गइरहेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ ।
काठमाडौंका १० प्रतिनिधि सभा क्षेत्रसहित देशका विभिन्न जिल्लाका प्रतिनिधि सभा क्षेत्रमा आज कांग्रेसको अधिवेशन छ ।कांग्रेसले मंसिर १० मा जिल्ला अधिवेशन र मंसिर १६ र १७ मा प्रदेश अधिवेशन गर्दै मंसिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ।











