काठमाडौं । नेपाली कांग्रेसका वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज (मंगलबार) नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा बसको आफूपक्षीय बैठकमा उनले साझा उम्मेदवारीका आफू त्याग गर्ने बताएका हुन् ।

उनले सभापति देउवाविरुद्ध लड्न साझा उम्मेदवारको विकल्पन नरहेको पनि बताए । नेता पौडेलले बैठकमा भनेको कुरालाई उदृधत गर्दै केन्द्रीय सदस्य गुरुराज घिमिरेले भने, ‘देउवाविरुद्ध लड्न साझा उम्मेदवारको विकल्प छैन, तपाईंहरु मिल्न तयार हुनुहुन्छ भने म छोड्न तयार छु, हैन भने मलाई नै सघाउनुहोस् ।’
कांग्रेको संस्थापन इतर पक्षका नेताहरु जसरी भएपनि आमागी महाधिवेशनमा साझा उम्मेदवार बनाउन लागिपरेका छन् । अहिले चाक्सीबारीमा सभापतिका चार आंकक्षी नेताहरुबीच छलफल भइरहेको छ ।
जारी बैठकमा १४औं महाधिवेशनमा सभापतिका आकांक्षी रहेका वरिष्ठ नेता पौडेल, महामन्त्री शेखर कोइराला, नेता सिंह र शेखर कोइरालासहित नेताहरु सहभागी छन् । तर निष्कर्षमा पुग्न बाँकी रहेको छ ।
नेताहरुलाई दबाब दिन सिंह निवास बाहिर युवाहरुले ‘साझा उम्मेदवारको विकल्प छैन’, ‘एकता मात्रै जितको आधार हो’ भदै प्लेकार्ड प्रदर्शन गरिरहेका छन् ।
यसअघि सोमबार वरिष्ठ नेता पौडेलको निवास बोहोराटारमा सभापतिका ४ आकांक्षीबीच छलफल भएको थियो ।
सोमबारको बैठकमा साझा उम्मेदवार तय गर्नका लागि छलफल जारी राख्ने सहमति भएको थियो । सोमबारको सहमतिअनुसार इतर समूहका नेताहरु मंगलबार पनि छलफलमा जुटेका हुन्।














