काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आसन्न १४औं महाधिवेशनमा संस्थापन इतर पक्षबाट साझा उम्मेदवारीको विषय टुंगिएको बताएका छन् ।
आज (मंगलबार) नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा संस्थापन इतर पक्षबाट साझा उम्मेदवार छनोट गर्ने विषयमा छलफल भएको थियो । उक्त छलफल पछि प्रतिक्रिया दिँदै भोलि (बुधबार) बिहानसम्म साझा उम्मेदवार तय भइसक्ने पौडेलले बताए ।
उनले भने, ‘नेपाली कांग्रेसको रुपान्तरण चाहने विचार समूहका साथीहरुले आज निकै छलफल गर्यौँ । हामी सहमतिको निकै नजिक पुगेका छौं, भोलिसम्ममा केही प्रक्रिया पूरा गरेर बाहिर आउँछ,’ केही प्रक्रिया पूरा गर्न बाँकी रहेको र त्यो प्रक्रिया पूरा गरेर बुधबार निर्णय सार्वजनिक गरिने पौडेलको भनाइ छ ।
१४औं महाधिवेशनको लागि संस्थापन इतर पक्षबाट वरिष्ठ नेता पौडेलसँग महामन्त्री कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला सभापतिको आकांक्षी छन् ।
यसअघि सोमबार वरिष्ठ नेता पौडेलको निवास बोहोराटारमा सभापतिका ४ आकांक्षीबीच छलफल भएको थियो । सोमबारको सहमतिअनुसार इतर समूहका नेताहरु मंगलबार पनि छलफलमा बसेको हो ।












