Logo
Logo

किन डराए फिल्म निर्माता ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ जेठ ।
व्यापार खस्किएपछि नेपाली फिल्मको संख्या घट्न थालेको छ । कलाकारहरु महंगो हुँदै गएको तर बजार त्यसअनुसार नहुँदा निर्माताहरु डुब्न थालेका छन् । त्यहीकारण फिल्म निर्माण पनि घटेको छ ।
फिल्म निर्माण घट्नुको कारण कलाकारको पारिश्रमिक उच्च हुनु पनि भएको निर्माता संघका महासचिव रोज राणा बताउँछन् । उनको् प्रश्न छ ,‘५० लाख पारिश्रमिक लिने हिरोले कति प्रतिशत व्यापारको ग्यारेन्टि लिन्छन् ?’

आफूलाई स्टारडममा उतार्ने कलाकारले बलिउड शैली समातेका बेला, बलिउड कलाकारले लिएको जिम्मेवारी पनि उतार्नुपर्छ भन्ने राणाको मान्यता छ । निश्चित पारिश्रमिकसँगै बलिउडका स्टारडमले फिल्मको व्यापार प्रतिशतका आधारमा पारिश्रमिक लिने चलन छ । त्यहाँमाथि कतिपयले त फिल्म नचल्दा लिएको पारिश्रमिकबाट घाटा व्यहोर्न समेत थालेका छन् । राणा सोध्छन्– ‘के, नेपाली अभिनेता अभिनेत्रीले त्यसो गर्न सक्छन् ?’

वैशाख र जेठ नेपाली फिल्म जगतका लागि छायांकनको उत्तम महिना हो । गएको बर्ष तीन दर्जन फिल्म छायांकनमा रहेको यी महिनामा यस बर्ष ५ वटा फिल्म पनि छैनन् । किन ? राणाको प्रतिक्रिया छ– कलाकारले निर्माताको ढाड सेक्नेगरी पारिश्रमिक लिनु अनि प्राविधिकका सर्तले घुँडा खुस्क्याउनु ।
नेपाली फिल्मको बजारको दायरा फराकिलो छैन । एउटा फिल्म निर्माणका लागि कम्तिमा २ करोड तयार नपारी नहुने अवस्था छ । तर, बजारबाट निर्माताको खल्तीमा २ करोड फिर्ता हुन फिल्म ब्लकबस्टरमात्र भएर पनि नपुग्ने अवस्था छ । नयाँ फिल्म निर्माणको घोषणा गरेका राणा जोड्छन्‘त्यहाँमाथि निर्माताको अनुकुलतामा छायांकन गर्न नमिल्ने अवस्था सृजना गरिदिन्छन् । अनि, कसरी बन्छ फिल्म ?’

चलचित्र प्राविधिक संघले प्राविधिकहरुलाई निश्चित समयभन्दा बढी समय काम गराएमा निर्माताले थप पारिश्रमिक दिनुपर्ने निर्णय गरेपछि निर्माताहरु डराएका छन् । संघले १२ घण्टे सिफ्ट प्रणाली घोषणा गरेको छ । यसमा राणाको तर्क छ,‘दिनभरी सुटिङ गरे पनि रातीको सिनमा अनुबन्धन भएअनुसार काम गर्नु पर्छ कि पर्दैन ? त्यसमा निर्मातालाई नै दबाबमा राख्ने कस्तो नियम हो, यो ?’

उनको स्पष्ट भनाई छ– पहिला निर्माता बचाऊ अनि उद्योग बाँच्छ । फिल्म बन्छ, कलाकार प्राविधिक सबै बाँच्छन् । दररेट र आफ्ना अडानले मात्र उद्योग बाँच्न सक्छ ?

प्रतिक्रिया दिनुहोस्