Logo
Logo

लोकसभा निर्वाचन, फेरि मोदी प्रधानमन्त्री बन्ने निश्चित


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ जेठ ।
विश्वकै सबैभन्दा ठूलो प्रजातान्त्रिक अभ्यासको उत्सवको रुपमा रहेको भारतीय लोकसभा चुनावको मतगणनामा नरेन्द्र मोदी फेरि प्रधानमन्त्री बन्ने लगभग निश्चित देखिएको छ । उनको दल भाजपा नेतृत्वको नेशनल डेमोक्रेटिक एलाएन्सले अघिल्लो चुनावमा भन्दा धेरै सिट ल्याउने देखिएको छ । पछिल्लो परिणामअनुसार सो गठबन्धनले तीन सय ३५ सिटमा अग्रता छ । बहुमतका लागि २ सय ७२ सिट भए पुग्छ ।

 

त्यस्तै कांग्रेस नेतृत्वले गठबन्धनले एक सय चार तथा अन्य दलहरुले एक सय १२ स्थानमा नेतृत्व गरिरहेका छन् ।
५४२ लोकसभा सिटका लागि ३९ दिन लगाएर सात चरणमा चुनाव भएको हो । गएको अप्रिल ११ मा पहिलो चरणको मतदान भएको थियो र यहि मे १९ मा अन्तिम अर्थात सातौँ चरणमा मतदान सम्पन्न भएको हो ।
बिहान ८ बजेपछि सुरु भएको मतगणनामा सुरुवाति रुझान सत्ताधारी भाजपा तर्फ बढि देखिएपछि भाजपा कार्यकर्ताहरुले उत्सव मनाउन थालिसकेका छन् ।

तर भाजपासहितको सत्तारुढ गठबन्धन भित्र भावी सरकारका बारेमा तयारी सुरु भएको पनि बताइन्छ । यसपटकको चुनावमा ९० करोड भन्दा बढि मतदाता योग्य थिए, ५४३ लोकसभा सिटका लागि । भारतको चुनावमा मतदान योग्य व्यक्तिको संख्या विश्वको कुल जनसंख्याको १० प्रतिशत भन्दा बढि हो ।
भारत सन् १९४७ मा बेलातबाट स्वतन्त्र भएपछि पहिलो पटक सन् १९५१–५२ मा चुनाव भएको थियो । अहिले चुनावमा मतदान योग्य रहेका मतदाताको संख्या अमेरिकाको भन्दा झण्डै चार गुणा बढि हो । प्रजातान्त्रिक अभ्यास गर्ने देशमा भारतपछि अमेरिका दोस्रो स्थानमा आउँछ जनसंख्या या मतदाताका हिसाबले ।

यो चुनावमा जुन पार्टीले जित्छ उसले आगामी पाँच वर्ष विश्वको ठूलो प्रजातान्त्रिक देशको नेतृत्व सम्हाल्ने छ । यसलाई अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदीको समीक्षाका रुपमा पनि लिइएको छ । अर्थतन्त्रका हिसाबले पनि भारत विश्वको शक्ति राष्ट्रमा पर्छ । अहिले भारतको जनसंख्या १.३४ बिलियन भन्दा बढि छ र चाँडै नै १.३९ बिलियन जनसंख्या रहेको चीनलाई उछिन्दै विश्वको सबैभन्दा बढि जनसंख्या युक्त देश बन्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्