Logo
Logo

दोषीलाई बचाउन खोजेको भन्दै प्रहरी कार्यालयमा ढुङ्गामुढा



रौतहट । रौतहटमा प्रहरी र स्थानीयबीच झडप भएको छ । प्रहरीले दोषीलाई बचाउन खोजेको भन्दै जिल्लाको विजयपुर ईलाका प्रहरी कार्यालयमा प्रदर्शनकारीहरुले ढुङ्गामुढा प्रहार गरेका छन् ।

गएराति टिपरको ठक्करबाट एकजना स्थानीय कम्युनिष्ट नेताको मृत्यु भएपछि पीडित परिवार तथा जनप्रतिनिधिहरु प्रदर्शनमा उत्रिएका हुन् । फतुवा विजयपुर–११, हिमालीबासमा टिपरको ठक्करबाट मोटरसाइकल चालक खेदु चौधरीको मृत्यु भएको थियो । उनी नेकपा एमालेका स्थानीय नेता हुन् ।

उनको मृत्युपछि पीडित परिवारको रोहवरमा सर्जमिन मुचुल्का गरी पोष्टमार्टमका लागि शव पठाउनु पर्नेमा त्यसो नगरी ईलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख तथा प्रहरी निरीक्षक विष्णु विश्वकर्माले मनपरी गरेको स्थानीयवासीको आरोप छ ।

प्रहरी निरीक्षक विश्वकर्माले टिपर धनी र चालकलाई जोगाउन हतार हतारमा घटनालगत्तै शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाएको पीडित परिवारजनको भनाई रहेको छ ।

प्रहरी निरीक्षक विश्वकर्माले आफू कसैको प्रभावमा नपरेको भन्दै आफूमाथि लगाइएका आरोपको खण्डन गरेका छन् । पीडित परिवारसँगै सयौंको संख्यामा गाउँलेहरुले सोमबार बिहानैदेखि विजयपुरमा प्रदर्शन गर्दै बिहान ११ प्रहरी कार्यालयमा ढुङ्गामुढा प्रहार गरेका थिए ।

यस क्रममा २ जना प्रहरी घाइते भएको तथा प्रहरीले स्थिति नियन्त्रणमा लिन ३ राउन्ड अश्रुग्यास प्रहार गर्नुपरेको प्रहरी निरीक्षक विश्वकर्माले जानकारी दिएका छन् । प्रहरीको लाठी प्रहारबाट प्रदर्शनकारी मुक्ति पटेलको टाउको फुटेको छ ।

यता रौतहट प्रहरी प्रमुख एवं एसपी विनोद घिमिरेले दुर्घटनामा संलग्न टिपर चालक पक्राउ परिसकेकाले नियमानुसार कारवाही प्रक्रिया अगाडि बढाइने बताएका छन् । आइतबार राति करिब साढे ८ बजे बा ३० प ८११५ नम्बरको मोटरसाइकललाई गुगल निर्माण सेवाको ना ८ ख ४२०२ नम्बरको टिपरले ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्