Logo
Logo

उपसभामुखका अंगरक्षकमाथि यौन प्रस्ताव राख्ने स्वकीय सचिव पदबाट बर्खास्त


- दृष्टि न्युज/संवाददाता


धनगढी ।
सुदुरपश्चिम प्रदेशका उपसभामुखका अंगरक्षकलाई यौन प्रस्ताव राख्ने स्वकीय सचिवलाई पदबाट हटाइएको छ ।

उपसभामुख निर्मला बडाल जोशीकी अंगरक्षक महिला प्रहरीलाई फेसबुक म्यासेन्जरबाट यौन प्रस्ताव राख्ने स्वकीय सचिव हरिश भट्टलाई आइतबारदेखि पदबाट हटाइएको छ ।

स्वकीय सचिव भट्टले महिला प्रहरीलाई यौन प्रस्ताव गरेको खबर केही दिन पहिले बाहिर आएको थियो। स्वकीय सचिव भट्टले पदीय आचरण विपरित काम गरेको भन्दै तीब्र आलोचना भएपछि उनलाई जिम्मेवारीबाट हटाइएको उपसभामुखको सचिवालयले जनाएको छ।

बिगतमा पनि उपसभामुखका अंगरक्षकलाई उनले यौन प्रस्ताब राख्ने गरेको स्रोतले बताएको छ। स्वकीय सचिवकै हर्कतबाट हरेक दुई महिनामा अंगरक्षक फेरिने गरेको स्रोतको दाबी छ। पछिल्लो पटक अंगरक्षक फेरिएलगत्तै यौन प्रस्ताव गरेको खबर बाहिर आएको थियो।

सुदूरपश्चिम प्रदेश नेकपाका सह इञ्चार्ज समेत रहेका उपसभामुख जोशीका श्रीमान लक्ष्मणदत्त जोशी सहितका नेकपाका नेताहरूको निर्देशनमा भट्टलाई स्वकीय सचिवको जिम्मेवारीबाट हटाइएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्