Logo
Logo

मोदीको नेपाली मन


शम्भु श्रेष्ठ


शम्भु श्रेष्ठ

भारतमा विजेपीले चुनाव जितेको भोलिपल्ट नेपालका प्रमुख अखबारमा नरेन्द्र मोदीको हँसिलो फोटोसहितको समाचारले प्रमुखता पायो । सरकारी सञ्चारमाध्यम गोरखापत्र र दि राइजिङ नेपालको प्रमुख पृष्ठमा समेत मोदी रंगिए । यसले भारतीय चुनावलाई नेपाल र नेपालीले कति महत्वका साथ हेरिरहेका छन् भन्ने कुरा स्पष्ट भएको छ । अझ वीरगन्जमा त दिपावली गरिएको समाचार बाहिर आयो । सामाजिक सञ्जालमा ‘अब हामीले पनि मोदीकै जस्तो जित हात पार्दैछौँ’ भनेर कमल थापाको प्रतिक्रिया भाइरल बन्यो । मोदीले चुनाव जित्दा नेपालका विभिन्न पक्षहरु खुशी हुनुपर्नेको कारण हिन्दू धर्म नै हो । मोदीले नेपालीहरुको मनोविज्ञानलाई धर्ममा केन्द्रित गर्न उनी नेपाल आएका बेला राजनीति कम धर्मको बढी प्रचार गर्ने गरेका छन् । कहिले मुक्तिनाथ, कहिले जनकपुर त कहिले पशुपतिनाथ उनी त्यत्तिकै पुगेका होइनन् । त्यसका पछाडि हिन्दू धर्मसँग नेपाली जनताको मानसिकता जोड्नु उनको उद्देश्य हो । उनलाई थाहा छ, नेपालमा कम्युनिष्टको प्रभाव बढ्दै गएको छ । अझ गत वर्षको चुनावमा कम्युनिष्ट पार्टीले लगभग दुईतिहाइको मत ल्याएका छन् । भारतको चुनावमा त्यहाँको कम्युनिष्ट पार्टी बिलाउँदै गए पनि नेपालमा दुईतिहाइको कम्युनिष्ट सरकार छ । उनलाई यो पनि थाहा छ कि कम्युनिष्टहरु धर्म मान्दैनन् । त्यसैकारण नेपालको संविधानमा धर्मनिरपेक्षता राखियो । यो कुराले मोदीको मनमा चस्का पसेको छ ।

संविधानसभामा पहिलो पटक सम्बोधन गर्दा उनले भनेका थिए– ‘ऋषिमनले संविधान बनाउनुस् ।’ उनको यो भावनामा ठेस लागेपछि नाकाबन्दीको तहसम्म उनी पुगे । उनले भनेको ‘ऋषिमन’ के थियो भन्नेतिर हाम्रा राजनीतिक विश्लेषकहरुले बहस नचलाए पनि सर्वसाधारणले संविधानमा ‘धार्मिक स्वतन्त्रता’को चाहना उनको थियो भन्ने बुझे । त्यो चाहना पूरा नभएसम्म उनको मनले विश्राम लिने छैन । किनभने, उनी कट्टर हिन्दूवादी नेता हुन् । चुनाव भारतीय जनताले जिताए पनि अब उनी काठमाडौँ आए भने फेरि भन्नेछन्– पशुपतिनाथको आशीर्वादले मैले चुनाव जिते । नेपाली जनताको मन मस्तिष्कमा उनको यो वाणी पुग्नु भनेको ‘तिमीहरु हिन्दू धर्मतिर फर्क’ भन्ने सन्देश नै हो । नेपालका कम्युनिष्टहरुलाई कुनै शक्तिले विस्थापित गर्न सक्छ भने अन्ततः त्यो धर्म नै हो भन्ने कुरा बुझेर उनले नेपालीको मनोविज्ञान धर्मतिर आकर्षित गर्न खोजेका हुन् । नेपालको राजनीतिमा यो एउटा मनोवैज्ञानिक युद्ध हो । यसले नेपालका हिन्दूहरुलाई दूरगामी असर पार्ने पक्का छ । जुन दिन हरेक नेपालीको मन मस्तिष्कमा धर्मको कुरा गढ्छ, त्यो दिन कम्युनिष्टलाई भोट दिनेले पनि आफ्नो बारेमा एक पटक सोच्छ भन्ने मनोविज्ञान मोदीको हुनुपर्छ ।

विश्वभरि राजनीतिलाई सिद्धान्त, विचार र नीतिले डोहो¥याइरहेको हुन्छ । भारतजस्तो सबैभन्दा लोकतान्त्रिक देश भने आज आएर धर्मले डोहो¥याइरहेको छ । यो लोकतान्त्रिक भविष्यका लागि चिन्ताको विषय पनि हो । लोकतन्त्र भनेको सबै धर्म, जात, भाषा अटाउने पद्धति हो । त्यो पद्धतिविपरीत एउटा धर्म, एउटा जात र एउटा भाषाले मात्रै देश चलाउँछु भन्न खोज्यो भने त्यहाँ द्वन्द्वको विजारोपण हुन्छ । सायद भारतमा दोस्रो पटक मोदीको उदय द्वन्द्वको बिजारोपण हो । मोदीले धर्मको आडमा बहुमत त ल्याए अब त्यो बहुमतलाई उनले राजनीतिमा कसरी रुपान्तरण गर्छन् भन्ने कुराले भारतको राजनीतिक भविष्य निर्धारण गर्छ । विश्वकै दोस्रो ठूलो जनसंख्या भएको देश भारतमा राजनीतिक सन्तुलन कायम गर्न सकिएन भने त्यसले भयावह परिस्थिति पनि निम्त्याउन सक्छ । भारतीय बुद्धिजीवीहरुका लागि यो बहसको विषय बन्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्