Logo
Logo

सुध्रिएन न्यायालय


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । अदालतमा भ्रष्टाचार अन्त्य गर्ने प्रतिबद्धता जनाएका चोलेन्दशमशेर राणा प्रधानन्यायाधीश भएको ५ महिना हुँदैछ । उनी प्रधानन्यायाधीश भएपछि ३३ किलो सुन प्रकरणमा जिल्ला अदालत मोरङले थुनछेक आदेश दिएकाहरुलाई उच्च अदालतबाट साधारण तारेखमा छाड्ने आदेश दिने मुख्यन्यायाधीश डा. कुलरत्न भूर्तेलसहित ८ न्यायाधीशलाई न्यायपरिषदमा तानेर चर्चित भए । काठमाडौ, ललितपुर, तनहुँका न्यायाधीशमाथिको कारबाहीले पनि उनी न्यायपालिका सुधारको पक्षमा लागेको सन्देश दियो । एनसेल लाभकर असुली प्रकरणमा बृहृत् पूर्ण इजलासबाट तिर्न आदेश दिए । ठूला करदाता कार्यालयले कर निर्धारण गरिसकेपछि पुनः रिट दायर भयो । एलसेलको दर्ता नै नहुने रिट दर्ता गरी ठूला करदाता कार्यालयलाई लाभकर असुली तत्काल नगर्न आदेश दिए । अजय सुमार्गीको ४ अर्बदेखि मुक्तिश्री, स्याटेलाइटको मुद्दामा पनि सर्वोच्चको फैसलाले न्यायपालिकामा भ्रष्टाचार नियन्त्रण गर्न खोजेको सन्देश गएको छैन ।

प्रधानन्यायाधीश राणाले बिचौलिया हटाउने प्रतिबद्धता ब्यक्त गरे पनि त्यो कुरा ब्यवहारमा लागू हुन सकेको छैन । अहिले पनि अदालतमा बिचौलियाको प्रभाव उत्तिकै छ, जति विगतमा ओमप्रकाश मिश्र, दीपकराज जोशी र गोपाल पराजुलीको समयमा थियो । उदाहरणका लागि तेजराम धर्मपाल फर्म र गणपति टोबाको कम्पनीको ट्रडमार्क सम्बन्धी मुद्दालाई नै लिन सकिन्छ । भारतीय कम्पनी तेजराम धर्मपालले राजनिवास ब्राण्डका पानमसालाको ट्रेडमार्क गणपति टोबाको कम्पनीले प्रयोग गरेको भनी दायर गरेको मुद्दामा बिचौलियाले ३ करोड रुपैयाँ लिइसकेको स्रोतको दाबी छ । स्रोतका अनुसार तेजराम धर्मपालको पक्षमा राजनिवास ब्रान्डको पानमसालाको ट्रेडमार्क कायम हुने आदेश गराउन उक्त रकमको लेनदेन भइसकेको छ । तेजराम धर्मपालका एजेन्ट केएन मोदीले उक्त रकम दिइसकेपछि आफ्नो पक्षमा फैसला हुन्छ भन्दै ढुक्क भइसकेका छन् । न्यायपालिकामा बिचौलियाको चलखेल उत्तिकै छ भन्ने यो एक दृष्टान्त हो । यस्ता अरु धेरै आर्थिक सरोकारका मुद्दामा बिचौलियाको चलखेल हुने गरेको छ । गणपति टोबाको ट्रेडमार्कको मुद्दा साप्ताहिक पेशी सूचीमा २०७६ जेठ १७ को लागि २ नम्बरमै राखिएको छ । २०७६ जेठ १० मा निकालेको साप्ताहिक पेशी सूचीमा उक्त मुद्दा २ नम्बरमा राखिएको हो । मुद्दा नम्बर ०७४सीआई १०९१, ०७४–सीआई–१०९३, ०७४–सीआई–१०९२ को टे«ृडमार्क दर्ता सम्बन्धी मुद्दामा चार्टर्ड एकाउन्टेन्ट केएन मोदीले तेजराम धर्मपालको पक्षमा फैसला हुनेगरी प्रधानन्यायाधीशका भाइ प्रभुशमशेर राणासँग डिल गरिसकेको स्रोतले बताएको छ । त्यसैअनुसार आगामी शुक्रबार अगाडि नै पालो आउनेगरी पेशी तोकिएको छ ।

टे«डमार्कको अधिकार पहिलो धारक ग्रहणकर्ता, सृजनाकर्ताको हुन्छ भन्ने छ । तर, पहिलो धारक ग्रहणकर्ता र सृजनाकर्ता कन्साई नेरोलेकको ट्रेडमार्क कैलाश गोयल नामक बिचौलियाले हडपेको बर्षौ बितिसक्दा पनि सर्वोच्च अदालतबाट टुंगिन सकेको छैन । कन्साई नेरोलेक पेन्ट जगतमा जापानको चर्चित अन्तर्राष्ट्रिय ब्रान्ड हो । उसले नेपालमा शालिमार पेन्ट्ससँग ज्वाइन्ट भेन्चर गरिसकेपछि उसका बिरुद्ध गोयलले मुद्दैमुद्दा दर्ता गरेका छन् । र, असली ट्रृेडमार्क धारणकर्ता कन्साई नेरोलेकले अर्कै नाम दिएर पेन्टस् उद्योग संचालन गर्नुपरेको छ । गोयलको पहुँच उद्योग विभागका महानिर्देशकदेखि सर्वोच्च अदालतका न्यायाधीशसम्म भएकाले सक्कली ट्रेडमार्क धारक कन्साई नेरोलेक तारिख धाउँदै हैरान छ ।

प्रतिक्रिया दिनुहोस्