Logo
Logo

आज देशभर चिसो बढ्ने, सतर्क रहन आग्रह



काठमाडौं । हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त प्रणालीका कारण हाल देशभर नै आंशिक बदली रहेको छ ।

पश्चिम तथा मध्य तराईका केही स्थानमा हुस्सु लागेको छ । आज (शुक्रबार) दिउँसो प्रदेश १, २ तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

अपराह्नतिर प्रदेश १ को पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावनासमेत रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ ।

आज राति देशभर आंशिक बदली रहनेछ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशभर आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेकाले देशभर चिसो बढ्ने महाशाखाको भनाई छ । चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्