Logo
Logo

राष्ट्रपतिदेखि संसदसम्मको तलब बढ्यो, कसको कति ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , १७ जेठ ।

सरकारले राष्ट्रपतिदेखि सांसदसम्मको तलब बढाएको छ । अर्थमन्त्री युवराज खतिवडाले बुधबार संसदमा सार्वजनिक गरेको बजेटमा राजपत्र अतंकित (सुब्बासम्मको) २० प्रतिशत र राजपत्रांकित ९अधिकृत वा सो भन्दा माथि० का कर्मचारीको तलबमा १८ प्रतिशत वृद्धि हुने घोषणा गरेको थियो ।

कर्मचारीको तलब वृद्धिसँगै भीभीआईपीको तलब पनि स्वतः बढेको अर्थ मन्त्रालयका अधिकारी बताउँछन्। बढेपछि राष्ट्रपतिको मासिक तलब १ लाख ७७ हजार ५ सय ३१ रुपैयाँ पुग्नेछ।

सांसदको तलब वृद्धिसँगै मन्त्री, उपप्रधानमन्त्री, प्रधानमन्त्री, उपराष्ट्रपति र राष्ट्रपतिको तलब वृद्धि हुने अर्थ मन्त्रालय स्रोतले बतायो। संघीय सांसदको मासिक पारि श्रमिक हाल ५५ हजार २ सय ३० रुपैयाँ छ। मुख्य सचिवको तलब ५४ हजार ५ सय ८८ छ। मुख्य सचिवको १८ प्रतिशत तलब वृद्धि हुँदा ६४ हजार ४ सय १४ पुगेको छ। संसद् सचिवालयका अनुसार संघीय सांसदको पारि श्रमिक पनि १८ प्रतिशतले वृद्धि हुँदा ६५ हजार १ सय ७२ पुग्नेछ। सांसदको तलब ९ हजार ९ सय ४१ रुपैयाँले प्रतिमहिना वृद्धि हुनेछ।

संघीय सांसदको पारि श्रमिक वृद्धिसँगै प्रदेशसभाका सांसदको पनि तलब बढ्नेछ। सांसदको तलबवृद्धिसँगै मन्त्रीहरुको तलब पनि बढेको छ। मन्त्रीहरुको तलब हाल ६० हजार ९ सय ७० रुपैयाँ छ। १८ प्रतिशत वृद्धिसँगै मन्त्रीको तलब ७१ हजार ९ सय ४५ पुग्नेछ। उपप्रधानमन्त्रीको हाल कायम ६५ हजार २ सय तलबमा १८ प्रतिशत वृद्धि भई ७६ हजार ९ सय ३६ पुग्ने अर्थ मन्त्रालयका अधिकारी बताउँछन्। यस्तै प्रधानमन्त्रीको तलबमा १३ हजार ९ सय १० वृद्धि भएको छ। प्रधानमन्त्रीको तलब हाल ७७ हजार २ सय ८० छ। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छापिएको छ ।

वृद्धिसँगै प्रधानमन्त्रीको तलब ९१ हजार १ सय ९० पुगेको छ। आगामी साउनदेखि राष्ट्रपति र उपराष्ट्रपतिको तलब पनि १८ प्रतिशतले बढेको छ। राष्ट्रपतिको हाल १ लाख ५० हजार ४ सय ५० रुपैयाँ तलब छ। २७ हजार ८१ रुपैयाँ वृद्धि हुँदा राष्ट्रिपतिको मासिक तलब १ लाख ७७ हजार ५ सय ३१ पुग्नेछ। यस्तै उपराष्ट्रपतिको १ लाख ८ हजार ३० रुपैयाँ तलबमा १९ हजार ४ सय ४५ रुपैयाँ वृद्धि हुँदा १ लाख २७ हजार ४ सय ७५ रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्