Logo
Logo

समलिंगी पनि बिहे गर्न आएका छन्-सोनिका रोकाया, मोडल तथा सञ्चारकर्मी


- दृष्टि न्युज/संवाददाता


सोनिका रोकाया, यो चर्चित नाम हो । ‘यु–ट्युबर’का रुपमा चर्चामा आएकी सोनिका ‘बोल्ड’ मोडल पनि हुन् । तर, यतिमै उनको परिचय काफी हुन्न । उनी एक रेष्टुरेण्ट व्यवसायी पनि हुन् । बझाङ, धनगढी हुँदै काठमाडौं छिरेकी यी बोल्ड मोडल तथा सञ्चारकर्मीको जीवनकथा सुन्दा धेरैलाई अनौठो लाग्न सक्छ । उनी आफ्नो परिचय यसरी दिन्छिन्, ‘म आफूलाई मोडल, सञ्चारकर्मी वा रेष्टुरेण्ट व्यवसायी भन्दा पनि डियरिङ लेडी अर्थात डर नभएकी नारी हुँ ।’ पत्रकारिताको विद्यार्थी समेत रहेकी सोनिकाले यसपटक केही आफ्नाबारे नयाँ खुलासा समेत गरेकी छन् । यिनै बोल्ड मोडल तथा सञ्चारकर्मी सोनिकासँग एमपी सुब्बाको जम्काभेट :

सोनिका रोकाया, मोडल तथा सञ्चारकर्मी

यो क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?

म पश्चिमको बझाङ जन्मिएकी हुँ । पछि हामी बझाङबाट धनगढी बसाइँ स¥यौँ । त्यतिखेर सानै थिएँ । बझाङबाट धनगढी आउँदा बाटोमा खाना खाने होटलमा पहिलोपटक टिभी देखेकी थिएँ । टिभीमा गीत बजिरहेको थियो । त्यतिखेरै मैले सोचेकी ‘म पनि ठूलो भएपछि यस्तै बन्छु’ । त्यो समयमा हाम्रोमा बत्ती आएको थिएन । न त टिभी नै थियो ।

त्यो बेला पहिलोपटक टिभी देख्दा कस्तो लाग्यो ?

निकै अनौठो । टिभीमा हिन्दी गीत बजिरहेको थियो । टिभीमा नाच्नका लागि टिभीको पछाडि बक्स खोलेर छिर्नुपर्छ होला सोचेकी थिएँ । निकैबेर सोचेर पनि हेरेँ पनि । तर, मम्मीले हामी जाने घरमा पनि टिभी छ भनेपछि त्यहाँबाट हिँडेका थियाँै ।

सुरुमा काठमाडौं केका लागि आउनु भएको थियो ?

बुढानिलकण्ठ स्कुलमा स्कलरशीप पाएपछि पढ्न आएकी हुँ । मैले कक्षा पाँचदेखि १० सम्म बुढानिलकण्ठ स्कुलमा पढेकी हुँ । त्यसपछि कलेजचाहिँ अन्यमा ज्वाइन गरेँ ।

रुचि टिभीमा नाच्ने हिरोइन बन्ने थियो । सञ्चार क्षेत्रमा कसरी लाग्नुभयो ?

हो, तर, मैले पत्रकारिता पनि पढ्दैथिए । प्लस–टुसम्म साइन्स पढेर ब्याचलरमा पत्रकारिता पढ्न सुरु गरेकी हुँ । कलाकार बन्ने रहर भएकाले नै पत्रकारिता पढ्न थालेकी हुँ । पत्रकार भएपछि फिल्मका निर्माता तथा निर्देशकसँग भेट हुन्छ र कलाकार बन्न चान्स पाइन्छ भनेर यता लागेकी हुँ ।

पत्रकार बन्ने अवसर कसरी जु¥यो ?

‘केटिएम नेपाल’ भन्ने फेसबुक पेज थियो । जसबाट मैले लाइभ कार्यक्रम चलाउने अवसर पाएँ । त्यतिखेरै मैले ‘प्रेम गीत–२’ को प्रमोशन गर्ने अवसर पाएँ । त्यो अवसर सन्तोष सेनले मलाई दिनुभयो । त्यसपछि अरु फिल्मको पनि प्रमोशन गर्ने अवसर पाएँ । त्यतिखेरै ‘वोउ नेपाल’मा कार्यक्रम प्रस्तोताका लागि अफर आयो । ‘वोउ नेपाल’सँगै म पनि चर्चित बनेँ ।

‘वोउ नेपाल’मा कार्यक्रम चलाउँदा डबल मिनिङ लाग्ने प्रश्न गरेर आलोचित बन्नु भयो नि ?

हो, तर त्यो ठाउँमा पुरुष भएको भए विवादित हुँदैनथ्यो होला । त्यसरी डबल मिनिङ लाग्ने प्रश्न गर्नु मैले अरुबाट कपि गरेकी हुँ । तर, मैमाथि विभिन्न गाली र आलोचना भयो । तर, आफ्नै ‘सोनिकाज् शोज’ चलाउँदै आएकी छु । ‘सोनिकाज शोज’मा राम्रो प्रतिक्रिया पाइररहेकी छु ।

तपाइँलाई ‘बोल्ड’ मोडल भन्छन् है ?

वोउ नेपालबाटै मलाई बोल्ड सोनिका भन्न थालिएको हो । गायक उजन नेम्बाङको गीत पहिलोपटक मोडलिङ गरेकी हुँ । ‘वोउ नेपाल’को मेरो एक्टिभिटिज देखेरै मलाई अमेरिकादेखि मोडलिङका लागि अफर आयो । नेपालमा पनि बोल्ड टाइपको म्युजिक भिडियो गरौँ न भन्ने प्रस्ताव आएपछि ‘चाहने’ बोलको गीतमा मोडलिङ गरेँ ।

हालै सामाजिक सञ्जाल र यु–ट्युब च्यानलमार्फत बिहेका लागि केटा चाहियो भनेर विज्ञापन गर्नुभएको थियो नि ? त्यो खाश के हो ?

हो, । अहिले प्रोसेसमा छ । छोरा मान्छेले केटी खोज्दा हुने अनि केटीले केटा खोज्दा के हुन्छ भनेर विज्ञापन गरेकी हुँ । अहिलेसम्म १० जना छनोट भएका छन् । त्यसमा तेस्रोलिंगीदेखि समलिंगीसम्म छन् । बेला–बेला मेरो बारे चल्ने चर्चाले गर्दा मलाई बिहे गर्न तेस्रो लिंगी र समलिंगी पनि आएका हुन् ।

वास्तवमा तपाइँ के हो ?

मलाई कोही समलिंगी भन्छन्, कसैले तेस्रोलिंगी । तर, यो वास्तविकता नबुझेर हो । म जन्मिँदा मेरो कुनै आइडेन्टी थिएन अर्थात म केटा पनि थिइनँ र केटी पनि । मेरो मम्मी नर्स भएकाले म सानै हुँदा मलाई केटी बनाइदिनुभएको हो । अहिले म केटी नै हुँ । तर, पनि केटाको केही नेचर मसँग छ ।

प्रतिक्रिया दिनुहोस्