Logo
Logo

राष्ट्रपति नेपालगन्ज पुगेर फर्किन्, तर सडक जाम भएन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , २७ जेठ ।

सडकदेखि विमानका यात्रुसम्मले दुःख पाउन थालेको भन्दै विरोध भएपछि राष्ट्रपतिको सवारीमा सुधार गर्न थालिएको छ । सामान्य कार्यक्रम राष्ट्रपतिले आफ्नै कार्यालयमा उद्घाटन गर्न सुरु गरेकी छिन् । गत २१ जेठमा राष्ट्रपति भण्डारी नेपालगन्ज गएकी थिइन् । अनौपचारिक भ्रमणमा गएकाले विमानस्थलमा नोटामसमेत जारी गरिएन । उनी नियमित उडानमार्फत गइन् र २३ गते फर्किइन् । यसबाट विमानस्थलमा कुनै असर नपरेको विमानस्थल प्रहरी प्रमुख एसएसपी सन्दीप भण्डारीले बताए । आजको नयाँ पत्रिकामा दैनिकमा समाचार छापिएको छ ।

भिआइपीको औपचारिक भ्रमणका क्रममा विमानस्थलमा नोटाम जारी गरेर अन्य उडान रोक्ने गरिन्छ । जसले दिनभरको उडान तालिका अस्तव्यस्त हुने गरेका छन् । सुरक्षाका कारण नभई भिआइपीको सम्मानका लागि अन्य उडान रोकिने गर्दा सर्वसाधारणबाट आलोचना हुने गरेको थियो । यसमा पनि सुधारको प्रयास भइरहेको विमानस्थलका एक अधिकारीले बताए । ‘भिआइपीको सुरक्षा कमान्ड सेनाले हेर्ने गर्छ,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक अधिकारीले भने, ‘सेनाको सिफारिसमा नोटाम जारी हुने हो । त्यसमा सुधार गर्न हामीले छलफल थालेका छौँ ।’

गत साता राष्ट्रपति नेपालगन्ज जाँदा र फर्कंदा विगतको तुलनामा ट्राफिक निकै कम प्रभावित भएको थियो । ‘विगतको तुलनामा हामीले थोरै मात्र सडकमा असर गर्ने गरी व्यवस्था मिलाएका थियौँ,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले भने ।

प्रतिक्रिया दिनुहोस्