Logo
Logo

विदेशमा लुकेकाहरु धमाधम पक्राउ पर्दै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । दुई वर्षदेखि नेपाल प्रहरीको मोष्ट वान्टेड सूचिमा रहेका परशुराम गुरुङ दुई साताअघि पक्राउ परे । जसले दुई सय भन्दा धेरै नेपालीलाई क्यानडा पठाउने भनेर करोडौं ठगी गरेका थिए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र इन्टरपोल शाखाको पहलमा उनलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको हो । उनको पासपोर्ट दुई वर्षअघि नै रद्द गरिएको थियो । एक थाई युवतीको संरक्षणमा उनी त्यहाँ बस्दै आएका थिए । प्रहरीबाट जोगिन उनी मुख्य सहरमा नसबी ग्रामिण क्षेत्रमा बस्दै आएका थिए ।

परशुराम यस्ता ठग हुन् जसले थाइल्याण्डमा २९ वटा सिमकार्ड प्रयोग गर्दथे । धेरैलाई सामाजिक सञ्जालमार्फत चिनजान गरी उनले अमेरिका पठाउने भनेर ठगी गर्दै आएको प्रहरीले जनाएको छ । हाल उनी सिआईबीको हिरासतमा छन् । उनीबाट दुई सय भन्दा धेरै व्यक्ति ठगिएको अनुसन्धानमा खुलेको छ ।

को–को ल्याइयो ?

पछिल्लो वर्ष इन्टरपोलसँग नेपाल प्रहरीको सहकार्य बढिरहेको छ । जसअनुसार नेपालमा अपराध गरेर विदेश पुगेकाहरु धमाधम फन्दामा पर्न थालेका छन् । गत वर्ष मात्र नेपालमा अपराध गरेर भागेका पाँचजनालाई प्रहरीले विभिन्न देशबाट ल्याएर मुद्दा दायर गरेको थियो । मानव बेचबिखन मुद्दामा फरार मीना लामा र श्यामकुमार लामालाई कुवेतबाट, बलात्कार मुद्दाका सिंहबहादुर थिङलाई युएईबाट, वैदेशिक रोजगार ठगीमा संलग्न सोमनाथ निरौलालाई चीनबाट र सुन तस्करीमा संलग्न बेनु श्रेष्ठलाई युएईबाट पक्राउ गरी प्रहरीले नेपाल ल्याएको छ । उनीहरू हाल जेलमा छन् । त्यस्तै बाघका छाला तस्करीको अभियोगमा फरार रहेका लोडु डिमेलाई पनि गत वर्ष पक्राउ गरी नेपाल ल्याइएकोमा उनी पनि हाल जेलमै छन् ।

इन्टरपोलसँगै सहकार्यमा हाल तीनजनालाई विदेशबाट पक्राउ गरी नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको छ । युएईमा दुईजना तथा थाइल्यान्डमा एकजनालाई नेपाल ल्याउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ । सनम शाक्य हत्या र सुन तस्करीमा संलग्न भएको अभियोगमा फरार रहेका रमेश उप्रेती र हरिशरण खड्कालाई नेपाल ल्याउने तयारी भइरहेको छ । उनीहरु यूएईमा पक्राउ परिसकेका छन् ।

एक वर्षमा ३१ जनाविरुद्ध नोटिस जारी

०७५ सालमा प्रहरीले १६ जनाविरुद्ध रेड नोटिस तथा १५ जनाविरुद्ध डिफ्युजन नोटिस जारी गरेको थियो । गत वर्ष इन्टरपोलको सहकार्यमा नेपालमा दुईवटा तालिम सम्पन्न भएका थिए । उनीहरुलाई पनि पक्राउ गरी नेपाल ल्याउने नेपाल प्रहरीले विभिन्न देशका प्रहरीसँग सहकार्य गरिरहेको छ ।

रेड नोटिस जारी गरिएका व्यक्तिहरुको पासपोर्ट रोक्का हुने भएकाले उनीहरु आवातजावत गर्न पाउँदैनन् । त्यसकारण पक्राउ पर्ने सम्भावना धेरै हुन्छ । नेपालको अरु देशसँग सुपुदर्गी सन्धि नभएपनि सहकार्य गरेर डिपोर्टको प्रक्रियाबाट नेपाल ल्याउने गरिएको छ । अन्तरदेशिय अपराध नियन्त्रणका लागि विभिन्न देशका प्रहरीसँग सहकार्य बढेको इन्टरपोल शाखाका प्रमुख एसएसपी उमेशराज जोशीले बताए ।

पक्राउ पर्लान् सुदर्शन गौतम ?

अमेरिकाको सपना देखाएर मानव तस्करी र ठगी गरेको आरोपमा फरार रहेका सुदर्शन गौतमलाई पक्राउ गर्न नेपाल प्रहरीले क्यानेडियन प्रहरीको सहयोग मागेको छ । गौतमविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)ले गत महिना रेड नोटिस जारी गरिसकेको छ ।

गौतम क्यानाडामा बस्दै आएका छन् । उनलाई पक्राउ गरी नेपाल ल्याउन नेपाल प्रहरीले क्यानेडियन प्रहरीसँग सहयोग मागेको हो ।

१० महिनादेखि नेपाल प्रहरीको फरार सूचीमा रहेका गौतम रेड नोटिस जारी भएकाले जुनसुकै देशमा पक्राउ पर्न सक्छन् । उनी क्यानेडियन नागरिक भइसकेकाले नेपाल ल्याउन भने कठिन हुन सक्ने प्रहरी अधिकारीहरू बताउँछन् । नेपालमा उनीविरुद्ध मुद्दा दायर भइसकेको छ ।

फिल्ममा समेत अभिनय गरेका गौतमले कलाकार बनाएर नेपालीहरुलाई अवैध बाटोबाट अमेरिका लैजाने गरेका थिए । त्यसमध्ये कतिपयको बाटोमै मृत्यु भएको थियो भने कतिपय महिनौंपछि अलपत्र परेर फर्किएका थिए ।

दुई वर्षअघि गौतमकै समूहले तीन युवतीलाई कलाकार बनाएर हाइटी हुँदै अमेरिका पु¥याउने प्रयास गरेको थियो । दिल्लीबाट रसिया, स्पेन, बोगोटा, डोमेनिकन रिपब्लिका हुँदै हाइटी लगिएको थियो । हाइटीमा एक कम्पनी खडा गरी फिल्मको सुटिङका लागि भनेर उनीहरूलाई सहजै त्यहाँसम्म पु¥याइएको थियो । हाइटीबाट सामान्य किसिमको पानीजहाजमा उनीहरूले अमेरिकाको सीमामा पु¥याउँथे । उनीहरूलाई पनि सोही पानीजहाजमा राखियो । जसमा तीन नेपालीसहित १५ जना थिए । सबैजना सोही समूहमार्फत अमेरिका जाने प्रयासमा थिए ।

तर, समुद्रको बीचमा पानीजहाज बिग्रियो । उनीहरूसँग भएको खानेकुरा पनि सकियो । धेरै दिनसम्म समुद्रमै उनीहरूले पानीजहाजमा रुँदै बिताए । तिर्खा खप्न नसकेपछि भक्तपुरकी सुमित्रा कुँवरले समुद्रकै नुनीलो पानी पिइन् । सोही कारण पानीजहाजमै मृत्यु भएको थियो । केही दिनपछि सो पानीजहाज समुद्री बहावसँग बग्दै अर्कै देशको किनारमा पुगेको थियो । सो देशका सुरक्षाकर्मीले पानीजहाज नियन्त्रणमा लिएका थिए । त्यहाँबाट करिब एक महिनापछि अन्य दुई नेपाली महिला फर्किएका थिए । उनीहरूकै उजुरीका आधारमा महानगरीय अपराध महाशाखाले अनुसन्धान गरेको थियो ।

महाशाखाले बाग्लुङका सागर श्रीस, म्याग्दीका लेकबहादुर पुन, ओखलढुंगाका अनिल बानियाँ र बाँकेका सुरज काफ्लेलाई पक्राउ गरेको थियो । उनीहरूमाथि छानबिन गर्दा सो गिरोहको नेतृत्व सुदर्शन गौतमले गरेको खुलेको थियो । उनले ६० लाख रुपैयाँ लिएको प्रमाणसम्म प्रहरीले फेला पारेको थियो । लगत्तै महाशाखाले रेड नोटिसका लागि प्रक्रिया अघि बढाएको थियो ।

महानगरीय अपराध महाशाखाका प्रहरीका अुनसार गौतमको समूहले करिब ५० जनालाई अमेरिका लैजाने भनेर ठगी गरेको थियो । जसमध्ये धेरैलाई उनले पैसा फिर्ता दिएका थिए । महाशाखाको अनुसन्धानमा अमेरिका पठाइदिने भनेर एकैजनासँग उनको गिरोहले ४० लाख रुपैयाँसम्म लिने गरेको थियो । कलाकार बनाएर हाइटीसम्म लैजाने र त्यहाँबाट समुद्री बाटो हुँदै कतिपयलाई अमेरिकासम्म तस्करीसमेत गरिन्थ्यो । त्यसक्रममा धेरै पक्राउसमेत परेका थिए । अर्काे एक मानव तस्करीको घटनामा पनि गौतमविरुद्ध प्रहरीमा जाहेरी परेको छ । जसमा उनलाई फरार अभियुक्त बनाई मुद्दा दायर गरिएको छ ।

दुवै हात नभएर पनि सगरमाथा चढेका कारण चर्चामा आएका गौतमले नायिका रेखा थापासँग मिलेर ‘हिम्मतवाली’ नामक चलचित्रसमेत बनाएका थिए । सो चलचित्रमा उनले अभिनयसमेत गरेका थिए । त्यही वेला उनीविरुद्ध ठगीसम्बन्धी उजुरी परेको थियो । त्यसयता उनी नेपाल आएका छैनन् । प्रहरीको इन्टरपोल शाखाले उनलाई नेपाल ल्याएर कारबाही गरी पीडितलाई न्याय दिने प्रयास अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्