Logo
Logo

एमसीसी राष्ट्रको हितमा छ, भ्रम छर्ने काम नगरौँ : प्रधानमन्त्री


126
Shares

त्रिसुली ।प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदान सहयोगको कार्यक्रम (मिलेनियम च्यालेन्ज कर्पोरेसन) एमसीसी राष्ट्रको हितमा भएको बताएका छन् ।

नुवाकोटको किस्पाङ गाउँपालिकाको नयाँ प्रशासकीय भवनको आज उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता नेकपा एमाले नेतृत्वको सरकारले संसद्बाट पारित गर्न पेस गरेकाले अहिले त्यसैलाई अघि बढाएको बताए ।

उनले एमसिसी नेपालको विकासका लागि निःशुल्क प्राप्त भएको अनुदान भएकाले ऋण जतिपनि लिनुपर्ने, यस एमसिसीको त ब्याजसमेत तिर्नु नपर्ने भएकाले यो राष्ट्रको हितमा छ, अहित केही पनि नगर्ने बताए ।

कार्यान्वयमा केही आशङ्का देखाइएको छ भन्दै प्रधानमन्त्री देउवाले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर नेपालको कानूनअनुसार सञ्चालन हुने हुँदा अफवाह फैलाउनेको पछि नलाग्न आग्रह गरे ।

‘एमसीसी कार्यक्रमअन्तर्गत निर्माण गरिने प्रसारण लाइनबाट बम आउँछ भन्नेदेखि पशुपतिमा समेत अमेरिकी सेना भित्रिन्छ भनेर भ्रम छरेर केही हुन्न’, प्रधानमन्त्री देउवाले भने, ‘देशको विकासका लागि यसले फाइदा पुग्छ, रोजगारी सिर्जना हुन्छ, प्रतिस्पर्धामा यहीँका निर्माण व्यवसायीले नै बनाउने जिम्मा लिन पाउँछन् ।’

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन नजिक आइसकेकाले त्यसलाई भयरहित वातावरणमा निष्पक्षरूपमा गराउन सरकार प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्