Logo
Logo

पाँच दलीय गठबन्धन एउटै कुचाले बढारिन्छ : ओली


756
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता झलनाथ खनाल र माधव नेपाललाई ‘अन्तरे जन्तरे’को संज्ञा दिएका छन् । आइतबार नेकपा एकीकृत समाजवादीका सम्मानी नेता खनालकै गृहजिल्ला इलाम पुगेको ओलीले यस्तो संज्ञा दिएका हुन् ।

आइतबार इलामको फिक्कलमा आयोजित पार्टी प्रवेश तथा चुनाव केन्द्रीत सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘दुईतिहाइ हैसियतमा पुगेको कम्युनिष्ट पार्टीको सरकारलाई कम्युनिष्टकै बर्को ओढेका ‘जन्तरे अन्तरे’ ढालेका हुन् ।’ उनले एमालेबाट निर्वाचित भएका मेयर र सांसदहरूले राजीनामा नदिएकामा समेत आलोचना गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘हेर्नुस् त, एमाले कार्यकर्ताले जुत्ता–चप्पल खियाए र पसिना बगाएर अन्तरे–जन्तरेलाई भोट हालेकाहरूले राजीनामा गर्नुपर्दैन ? भत्ता खाइराख्ने ?’

उनले एमालेले लगाइरहेको सांसद र मेयरको फुली फिर्ता गर्नुपर्ने बताउँदै भने, ‘कति साह्रो लाज नभएको ? कमसेकम एमालेले टाँसिदिएका जुँगा त खौरिएर छोड्नुपर्छ नि ।’

अध्यक्ष ओलीले आगामी चुनावमा बाकस कसको खाली हुन्छ भन्ने जनताले जवाफ दिने बताउँदै भने, ‘तपाइँहरूले जवाफ दिनुपर्छ । यस्ता गुन बिर्सिने र स्वार्थका पछाडि कुद्ने तत्वहरुलाई मुखभरिको जवाफ दिनुपर्छ ।’ उनले आगामी चुनावमा पाँच दलीय गठबन्धन एउटै कुचाले बढारिने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्