Logo
Logo

सांसद् झाको चिन्ताः एमाले बदनाम पार्टी हुने भो


रुपेन्द्र पटेल

27.7k
Shares

रौतहट । संघीय सांसद् तथा नेकपा एमालेकी केन्द्रीय सदस्य रेखा झाले व्यक्तिगत स्वार्थका लागि सिंगो एमाले पार्टी नै बदनाम हुने चिन्ता व्यक्त गरेकी छन् ।

गत बुधवार रौतहटको हर्षाहा चौकमा भएको दुर्घटनाको प्रहरीले निष्पक्ष छानबिन नगरी पक्षपात गरिरहेको भन्दै हिजो गरुडामा एमाले पार्टीका जिल्ला अध्यक्ष त्रिभुवन साहको नेतृत्वमा नेकपा एमालेका केही नेता कार्यकर्ताहरुले गरेको आन्दोलनप्रति नेतृ झाले असन्तुष्टि जनाउँदै उक्त आन्दोलन पार्टीको नीति विपरीत रहेको समेत बताइन् । उनले हिजो गरुडामा गरेको आन्दोलनलाई बहिष्कार स्वरुप प्रेस विज्ञप्ति जारी गर्दै उक्त आन्दोलनको कार्यक्रम पार्टीको आधिकारिक नीति र निर्णय विपरीत रहेको बताइन् । नेतृ झाले जिल्ला कार्यसमितिको निर्णय आधिकारीक नभएकाले सो निर्णयलाई नमान्न नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुलाई आग्रहसमेत गरेकी छन् ।

व्यक्ति विशेषको स्वार्थका लागि सिंगो पार्टीलाई बद्नाम नगर्न र नगराउन सचेत गराउँदै उनले निष्पक्ष छानबिनलाई प्रभावित नपार्न चेतावनीसमेत दिएकी छन् । नेतृ झाले मिति २०७८/१२/०२ बुधवार राति रौतहटको चन्द्रनिगाहपुर गौर सडक खण्ड अन्तर्गत हर्साहा चौकमा स्कर्पियो पिकप गाडीको ठक्करबाट मृत्यु भएका ३५ वर्षीय जितेन्द्र पटेल र २८ वर्षीय हरि ठाकुरप्रति श्रद्धाञ्जली व्यक्त गर्दै गम्भीर घाइते भएका दुई जना सुरक्षाकर्मीलाई शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छन् । उक्त दुर्घटनाको निष्पक्ष छानबिन गरी कुनै पनि प्रकारको राजनीतिकरण नगर्न र नगराउन सम्बन्धित प्रशासनको समेत उनले ध्यानाकर्षण गराएकी छन् ।

नेतृ झाले दुर्घटनालाई राजनीतिकरण गरी एमालेको नाम र गरिमालाई भजाएर निष्पक्ष छानबिनमा असर पुग्ने गरी कुनै पनि प्रकारको आन्दोलन र विरोधको कार्यक्रम नगर्न सम्बन्धित सबैमा आग्रह गरेकी छन् । सो दुर्घटनाको छानबिन गरेर सत्य तथ्य पत्ता लगाई दोषीलाई उम्कन नदिने र निर्दोष नफँस्ने उनको भनाइ छ । उनले निष्पक्ष छानबिनका लागि आ–आफ्नो स्थानबाट सहयोग गर्न नेतृ झाले विज्ञप्ति मार्फत सबै पक्षसँग अपिलसमेत गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्