Logo
Logo

प्रहरीमा बढ्दो इन्काउन्टर ‘मोह’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । २०६२/६३ सालपछि तराईका जिल्लामा जाने हरेक जसो एसपीको पहिलो काम ‘इकाउन्टर’ हुने गर्दथ्यो । त्यतिबेला पेशेवर आपराधिक समूह र सशस्त्र समूहका गतिविधि यसरी बढेको थियो कि ‘इन्काउन्टर’ नगरी जिल्लामा शान्ति सुरक्षा कायमै हुन सक्दैन थियो ।

प्रहरीको गोलीबाट मृत्यु भएका घटनाको छानबिनमा आयोगले चासो नदिई मौन बसेर ‘सदर’ गर्न थालेको आरोप लाग्न थालेको छ । इन्काउन्टर घटनाको छानबिनमा आयोग गम्भीर नहुँदा सामान्य घटनामा पनि अभियुक्तमाथि प्रहरीले गोली चलाउन थालेको छ । इन्काउन्टरका नाममा कतिपय अवस्थामा प्रहरीले पक्राउ गरेर अभियुक्तलाई गोली हानेको छ । त्यससम्बन्धी प्रस्ट प्रमाण भेटिँदासमेत राष्ट्रिय मानवअधिकार आयोग मौन बस्न थालेपछि प्रहरीले मुठभेडका नाममा पक्राउ गरेर गोली हान्ने घटना बढाउँदै लगेको हो ।

अपराधीलाई ‘सन्देश’ दिनका लागि त्यसरी हरेक नयाँ एसपीले इन्काउन्टर गर्दथे । प्रहरीको यस्ता इन्काउन्टरको प्रशंसा नै हुन्थ्यो । किनकी एक अपराधी मारिदा धेरै जनाको ज्यान जोगिथ्यो भने, जिल्लामा धेरै हदसम्म शान्ति सुरक्षा कायम हुन्थ्यो ।

विगतमा तराईमा चलेको यो ‘ट्रेन्ड’ अहिले उपत्यका र अन्य जिल्लामा पनि देखिएको छ । तर, अपराधिलाई तह लगाउने भन्दा चर्चाका लागि अभियुक्तलाई पक्राउ गरेर गोली हान्ने गलत प्रवृत्ति प्रहरीमा बढ्दै गएको छ ।

अपराध महाशाखाको प्रमुख भएपछि एसएसपी सहकुल थापाले पनि यही शैली अपनाए । गत ६ जेठमा महानगरीय अपराध महाशाखाले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–२ का विष्णु तामाङ ‘काले’ माथि गोली चलाए । उनी डकैती मुद्दाका खुंखार अपराधी भएको प्रहरीले जनाएको छ । तर, पक्राउ गर्न गोली हान्नैपर्ने अवस्था भने थिएन । पेशेवर अपराधीप्रति प्रहरी कडा रुपमा प्रस्तुत हुन्छ भन्ने सन्देश दिन त्यसरी गोली हानिएको बताइएको छ ।

गत साता कास्की प्रहरीले पनि एक सामान्य लागूऔषध कारोबारीलाई पक्राउ गर्न गोली चलायो । पोखरा १० उत्तमचोकका ३० वर्षीय गोविन्द थापामाथि प्रहरीले गोली हानेको हो । उनलाई पक्राउ गरेर गोली हानेको आरोप उनका परिवारले लगाएको छ । लागूऔषध दुव्र्यसनीलाई पक्राउ गर्न गोली हानिएको घटनाको आलोचना समेत भएको छ । कास्कीमा नयाँ एसपीका रुपमा दानबहादुर कार्की दुई साताअघि गएका थिए । चर्चाका लागि उनले त्यसरी गोली चलाएको कतिपयको आरोप छ । विगतमा प्रहरीका धेरै इन्कान्टर विवादमा परिसकेका छन् । तर, पनि यसको छानबिन नहुँदा गोली चलाउने बिकृती बढेको छ ।

मावन अधिकार आयोगको साथ ?

प्रहरीका विवादास्पद इन्काउन्टरलाई राष्ट्रिय मानवअधिकार आयोगले समेत साथ दिन थालेको छ । जसकारण गोली चलाउन प्रहरीको हौसला बढ्दै गएको छ ।

प्रहरीको गोलीबाट मृत्यु भएका घटनाको छानबिनमा आयोगले चासो नदिई मौन बसेर ‘सदर’ गर्न थालेको आरोप लाग्न थालेको छ । इन्काउन्टर घटनाको छानबिनमा आयोग गम्भीर नहुँदा सामान्य घटनामा पनि अभियुक्तमाथि प्रहरीले गोली चलाउन थालेको छ । इन्काउन्टरका नाममा कतिपय अवस्थामा प्रहरीले पक्राउ गरेर अभियुक्तलाई गोली हानेको छ । त्यससम्बन्धी प्रस्ट प्रमाण भेटिँदासमेत राष्ट्रिय मानवअधिकार आयोग मौन बस्न थालेपछि प्रहरीले मुठभेडका नाममा पक्राउ गरेर गोली हान्ने घटना बढाउँदै लगेको हो ।

बालक निशान खड्काको अपहरणपछि हत्या घटनामा संलग्न अजय तामाङ र गोपाल तामाङको गत वर्ष २१ साउनमा प्रहरीको गोलीबाट मृत्यु भएको थियो । अभियुक्तसँगै प्रमाण नष्ट गरेको भन्दै जुन घटनाले प्रहरीको व्यापक आलोचना भयो । अभियुक्तलाई पक्राउ गरेको छिमेकीले नै देखेका थिए र प्रहरीले उनीहरूले प्रहरीमाथि जंगलमा गोली चलाउन खोजेको बतायो । मुठभेडको कुनै संकेत नभएको आयोगको प्रारम्भिक छानबिनमा खुलेको थियो । तर, आयोगले प्रहरीलाई कारबाही गर्ने आँट गरेन ।

यसअघि राजधानीमा भएका अन्य दुई इन्काउन्टर घटनामा पनि आयोगले अप्रत्यक्ष रूपमा प्रहरीलाई साथ दिएको थियो । गुन्डागर्दीमा संलग्न आरोपमा दिनेश अधिकारी चरी र कुमार घैँटे प्रहरीको गोलीबाट मारिएको घटनामा आयोगले अहिलेसम्म छानबिन टुंग्याएको छैन । घैँटेले त आफूलाई प्रहरीले हत्या गर्न खोजेको भन्दै पहिले नै आयोगमा उजुरी दिएका थिए । चरीको इन्काउन्टर भनिए पनि अन्यत्र हत्या गरेर फालिएको प्रारम्भिक छानबिनमा खुलेको थियो ।

मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारी प्रहरीबाट भइरहेको इन्काउन्टरको प्रवृत्ति गलत भएको बताउँछिन् । प्रहरी प्रवक्ता डिआईजी विश्वराज पोखरेल गोली चलाउनै पर्ने अवस्थामा मात्र प्रहरीले अभियुक्तलाई गोली हानेको दाबी गर्दछन् ।

छिमेकी मुलुक भारतमा पनि अन्र्डरवल्र्ड सिध्याउने नाममा जथाभावी गोली हान्ने विकृति बढेको थियो । इन्काउन्टरका नाममा गोली हान्ने केही प्रहरी अधिकारीहरूविरुद्ध नै मुद्दा दायर भई कैद सजाय भएपछि जथाभावी इन्काउन्टर न्यून भएको थियो । अपराधीलाई ‘टाउको उठाउन नदिने’ उद्देश्यअनुसार यसरी इन्काउन्टरको रणनीति लिएको छ । तर, अपराध नियन्त्रण गर्ने नाममा यो सामान्य अवस्थामा पनि गोली हान्ने चर्चा कमाउने प्रवृत्तिसमेत बढ्न थालेको छ । प्रहरी अधिकारीबीच काम देखाउने होडबाजीमा निर्दाेष व्यक्तिहरूमाथि प्रहरी गोलीको निसाना पर्ने जोखिम बढेको छ ।

बढ्दो श्रृङखला

गत वर्ष २१ मंसिरमा अपराध महाशाखाले डकैतीका फरार अभियुक्त राजन लिम्बूमाथि गोली प्रहार गरेको थियो । भक्तपुरको इन्काउन्टर घटनामा पनि अपराध महाशाखा र परिसरबीच विवाद भएको थियो । महाशाखा र परिसरबीच काम देखाउने होडबाजीमा पटक–पटक समस्या भएको छ ।

गत माघमा सप्तरीको रूपनीमा प्रहरी गोलीबाट दीपेन्द्र चौधरी मारिए । प्रहरीले मुठभेड भने पनि घटनास्थलमा त्यस्तो कुनै संकेत भेटिएको छैन । यद्यपि, चौधरी मोस्ट वान्टेड व्यक्ति हुन् । गत साता मात्र उनले आतंक मच्चाउन प्रहरीमाथि नै गोली हानेका थिए । सशस्त्र समूहलाई ‘सन्देश’ दिन सो इन्काउन्टर भएको प्रहरी अधिकारीहरू बताउँछन् ।

२९ पुसमा रूपन्देहीमा प्रहरी गोलीबाट केदार सहानी मारिएका थिए । सिद्धार्थनगर नगरपालिका–४ मा प्रहरीसँग उनको दोहोरो भिडन्त भएको थियो । मोटरसाइकलमा रहेका सहानीले प्रहरीमाथि नै गोली हानेपछि जवाफी फायरिङ गर्दा उनको मृत्यु भएको रूपन्देहीका एसपी हृदय थापा बताउँछन् । सो घटनाको मानवअधिकार आयोगले छानबिन थालेको छ ।

गत ४ माघमा जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले हतियार ओसारपसारमा संलग्न प्रमोद यादवलाई गोली हानी नियन्त्रणमा लिएको थियो । जिल्लाको सुकसैनामा उनलाई पक्राउ गर्न खोज्ने क्रममा प्रहरीलाई आक्रमण गर्न खोजेपछि गोली चलाएको थियो । २ माघमा बाँकेको कोहलपुरमा पनि प्रहरीले एक फरार अभियुक्तलाई गोली हानेर नियन्त्रणमा लिएको थियो । केही दिनअघि दीपक सिंहको घाँटी रेटी हत्या गरेको घटनामा उनी संलग्न रहेको प्रहरीले जनाएको छ । उनका खुट्टामा गोली लागेको थियो ।

गत वर्ष मनोज पुन र सोमबहादुर आले पनि रूपन्देहीमा प्रहरीको गोलीबाट मारिएका थिए । उनीहरूलाई भारतबाट पक्राउ गरेर ल्याई गोली हानिएको उनका परिवारले दाबी गरी मानवअधिकार आयोगमा उजुरी गरेका थिए । तर, आयोगले यो घटनाको पनि गम्भीरताका साथ छानबिन गरेन ।

गत माघमै गोंगबुको एक गेस्ट हाउसमा काभ्रेका अविलास लामालाई गोली हान्यो । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनलाई गोली हानेको हो । लामा पेस्तोलसहित रहेकाले आत्मरक्षाका लागि गोली चलाउनुपरेको परिसरको प्रेस विज्ञप्तिमा बताइएको छ । तर, लामाले भने आफूलाई नियन्त्रणमा लिएर प्रहरीले गोली हानेको बताएका छन् ।

लामा माओवादी पूर्वलडाकु हुन् । उनले आफूमाथि प्रहरीले विनाकारण गोली हानेको भन्दै गृह मन्त्रालयमा उजुरी गरेका छन् । काठमाडौं परिसर र अपराध महाशाखाबीच काम देखाउने होडबाजीमा समेत गोली प्रहार हुने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्