
काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले आमनागरिकलाई स्वच्छ र शुद्ध खानेपानीको पुर्याउन सरकारले पानीको स्रोत संरक्षणको नीति लिएको बताएका छन् ।
ताप्लेजुङको श्रीजंगा गाउँपालिका वडा नं ३ स्थित हाप्पु खोला खानेपानी आयोजनाको स्किम नं १, २ र ३ को हिजो उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री चौधरीले सरकारले एक घर, एक धाराको नीतिलाई अघि सारेको पनि बताए । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामको ४ करोड ९५ लाख ७१ हजार रुपैयाँको लागतमा निर्माण गरिएको सो खानेपानी आयोजनाबाट गाउँपालिकाको २ नम्बर वडाका दुई सय ३५ घर धुरीका एक हजार चार सय १० जनसंख्या लाभान्वित भएका छन् ।
खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सूर्यराज कँडेलले खानेपानी आयोजनाबाट हिमाली जिल्ला ताप्लेजुङको ग्रामीण भेगका बासिन्दा लाभान्वित भएका बताए । यसैगरी मन्त्री चौधरीले हिजो नै श्रीजंगा गाउँपालिकाको प्रशासकीय भवनको एक समारोहबीच उद्घाटन गरेका छन् । गाउँपालिकाका अध्यक्ष टिका गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्य राज्यमन्त्री तारामान गुरुङलगायतले सम्बोधन गरेका थिए ।
२०७५ सालमा शिलान्यास भई गत पुस महिनामा निर्माण सम्पन्न भएका ९ वटा संरचनाको मन्त्री चौधरीले उद्घाटन गरेका गाउँपालिका अध्यक्ष गुरुङले बताए । सो अवसरमा नवनिर्मित संरचनाहरु प्रमुख प्रशासकीय भवन, पावर हाउस, अतिथि गृहसहित ९ वटै संरचनाको उनले अवलोकन गरेका थिए ।










