Logo
Logo

त्रिविमा देखिएका समस्या तत्काल समाधान हुनुपर्छ : ऊर्जामन्त्री


756
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ऐतिहासिक विरासत बोकेको त्रिभुवन विश्वविद्यालयमा चुनौती चुलिँदै गएको बताएका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, त्रिभुवन विश्वविद्यालय केन्द्रीय समितिको चौथो राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै उनले विश्वविद्यालयसम्बद्ध पक्षले गहन समीक्षा गरेर उत्पन्न चुनौतीलाई व्यवस्थापन गर्नेतर्फ लाग्न आग्रह गरे ।

व्यक्तिले खोलेका शिक्षण संस्थाले नाफा कमाउने र त्यहाँ विद्यार्थीको भीड हुने तर त्रिभुवन विश्वविद्यालयका कुनै संकायमा विद्यार्थीभन्दा शिक्षक बढी हुने अवस्था कसरी आयो भन्दै मन्त्री भुसालले व्यवस्थापन, प्रशासन र प्राध्यापन तीनै क्षेत्रले जवाफ दिने अवस्था आएकोे बताए । उनले भने, ‘एकले अर्कोलाई देखाउनेभन्दा पनि समस्या समाधान कसरी गर्ने भन्ने विषयमा विशेष ध्यान जानुपर्छ ।’

जनताको कर र जनताका छोराछोरीले तिरेको ‘शुल्क’बाट चल्ने संस्थाले आफ्नो जिम्मेवारी भुल्न नहुने उल्लेख गर्दै मन्त्री भुुसालले साधन र स्रोतलाई सही तवरले सञ्चालन तथा व्यवस्थापन गरेर फाइदा लिनुपर्ने बताए । उनले भने, ‘भिसी र रेक्टरकोमा ताला लागेको ६८ दिन भयो रे, एक दिन पनि विलम्ब नगरी समस्याको समाधान खोज्नुहोस् ।’

मन्त्री भुसालले भने, ‘अधिकांश सार्वजनिक क्षेत्रका जनशक्ति त्रिविकै छन् । देशको विकासका निम्ति आवश्यक पर्ने जनशक्ति उत्पादनमा त्रिभुवन विश्वविद्यालयको महत्वपूर्ण योगदान छ ।’

प्रतिक्रिया दिनुहोस्