
काठमाडौं । प्रमुख सत्तारुढ पार्टी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको दोस्रो दिनको बैठक सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु बैठकमा चुनावी प्रचार अभियानमा खटिएका केन्द्रीय सदस्यले आफू गएको जिल्लाको वस्तुगत अवस्थाबारे जानकारी गराउँदै छन् । कांग्रेसले जिल्लामा पार्टीको वर्तमान अवस्थाबारे बुझेर फर्किएका केन्द्रीय प्रतिनिधिलाई विषयवस्तु अवगत गराउन ५ मिनेटको समय प्रदान गरेको छ । यसअघि पहिलो दिन गत शुक्रवारको बैठकमा ६ वटा प्रदेशका सभापतिसहित २७ जनाले शीर्ष नेतृत्वलाई आफ्नो धारणा पेश गरेका थिए ।
पार्टीका केन्द्रीय सदस्यहरुबीच स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धबीच तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा दुई धार प्रस्ट रुपमा देखिँदै आएको छ । पार्टीको संस्थापन पक्षका नेताहरु आवश्यकताको सिद्धान्तका आधारमा तालमेल गर्नुपर्ने मत राख्दै आएका छन् ।












