काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालसँग भएका सम्झौताहरु कार्यान्वयन गर्न प्रतिवद्धता जनाएका छन् ।
आइतबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चिनियाँ विदेशमन्त्री वाङबीच भएको भेटवार्तामा उक्त प्रतिवद्धता जनाएका हुन् ।

चिनियाँ विदेशमन्त्री वाङ यी र एमाले अध्यक्ष ओली नेतृत्वको टोलीबीचको भेटवार्तामा दुवै पक्षबीच दुई पक्षीय मामलाका विषयमा धेरै कुराहरु भएको भेटमा सहभागी एमाले विदेश विभाग प्रमुखसमेत रहेका राजन भट्टराईले जानकारी दिए ।
भेटवार्तामा पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले नेपाल चीनबीच सम्झौता भएको बीआरआई परियोजना अघि बढाउन आग्रह गरेका थिए ।
भट्टराईका अनुसार ओलीले नेपाल र चीन दुईवटा मुलुक अत्यन्त नजिकको छिमेकी र सौहार्दपूर्ण सम्बन्ध रहेका मित्र मुलुक रहेको बताउँदै चिनियाँ पक्षसँग वीआरआईसँग जोडिएका आयोजनाहरुलाई छिटोभन्दा छिटो अघि बढाएर पुरा गर्नुपर्नेमा जोड दिएका थिए ।
त्यस्तै, चीनमा अध्ययनरत नेपाली विद्यार्थीका समस्या सम्बोधन गर्न र हुम्लाभन्दा पारी समस्यामा परेका ५ सय मानिसबारे अध्ययन गर्नुपर्नेमा अध्यक्ष ओलीले जोड दिएको भट्टराईले जानकारी दिएका छन् ।
चिनियाँ विदेशमन्त्री वाङले नेपालले राखेको चासोप्रति सकारात्मक रहेको बताएका थिए । विदेशमन्त्री वाङले चिनियाँ नेतृत्वका तर्फबाट तत्कालीन चीन–नेपालबीच भएको वीआरआई परियोजना छिटो कार्यन्वयनमा जानुपर्ने र पुराना प्रतिवद्धताप्रति चीनले निरन्तरता दिने प्रतिवद्धता जनाएका थिए ।












