Logo
Logo

१८ हजार बढी बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै


819
Shares

रुकुमपूर्व । रुकुमपूर्वमा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको छ ।

यही चैत २५ गतेदेखि टाइफाइडविरुद्धको खोप लगाउने देशव्यापी अभियानअन्तर्गत जिल्लाका यी उमेर समूहका सबैलाई खोप लगाइने भएको हो । यो उमेर समूहका बालालिका टाइफाइडबाट बढी प्रभावित भएकाले बालबालिकालाई लक्ष्य गरी नेपाल सरकारले नै खोप अभियान सञ्चालन गर्न लागेको हो । रुकुमपूर्वमा १५ महिनादेखि १५ वर्ष उमेर समूहका १८ हजार ४१८ बालबालिका रहेको स्वास्थ्य कार्यालय रुकुमपूर्वका सूचना अधिकारी एवं ल्याब टेक्निसिएन निरीक्षक नीमप्रसाद गिरीले जानकारी दिए । उनका अनुसार उक्त उमेर समूहका बालबालिकाको संख्या लुम्बिनी प्रदेशमा करिब १० लाख ५२ हजार र देशभर करिब ७५ लाखको हाराहारीमा रहेको छ ।

यो अभियान देशव्यापीरूपमा चैत २५ देखि वैशाख १८ गतेसम्म चल्ने छ । स्वास्थ्य कार्यालय रुकुमपूर्वले टाइफाइडविरुद्धको अभियान जिल्लामा कसरी सञ्चालन गर्ने भनेर कार्ययोजना निर्माण गर्नका लागि जिल्लास्तरीय अभिमुखीकरण गोष्ठीको आयोजना गरेको छ । गोष्ठीमा जिल्लास्थित सबै गाउँपालिकाका शिक्षा शाखा प्रमुख, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख र उपप्रमुख, सबै स्वास्थ्य कार्यालयका प्रमुखको उपस्थिति छ । सोमबार र मङ्गलवार दुई दिनसम्म चल्ने गोष्ठीमा छलफलका माध्यमबाट खोप केन्द्रको संख्या निर्धारण, खोप ढुवानी व्यवस्थापन, सञ्चालन गर्ने मिति, पालिका तथा वडामा सरोकारवालासँग अभिमुखीकरण गर्ने मिति तय गरिने गिरीले बताए ।

उनका अनुसार जिल्लामा साविकको गाविसका प्रत्येक वडामा खोप केन्द्र स्थापना गरी टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरिने छ । आवश्यकताका आधारमा भौगोलिक विकटता भएको ठाउँमा दुई घण्टाभन्दा बढी समय लाग्ने ठाउँमा खोप केन्द्र स्थापना गरी अभियान सञ्चालन गर्न सकिने छ । टाइफाइडविरुद्धको खोप लागाउने लक्षित जनसंख्या ८० प्रतिशत विद्यालयमा हुने भएकाले यो कार्यक्रममा विद्यालय केन्द्रित गरिने पनि बताइएको छ । टाइफाइडविरुद्धको खोपको सुरुवात जिल्लास्तरीय अभिमुखीकरण तथा गोष्ठीमा बोल्दै जिल्ला समन्वय समिति रुकुमपूर्वका उपप्रमुख भीमकुमारी पुनले यस अभियानले जिल्लामा मात्र नभई देशभर नै टाइफाइड उन्मूलन हुँदै जाने बताइन् ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले अभियान सफलतापूर्वक सम्पन्न गर्नका लागि जिल्लामा त्यति सजिलो नभएको बताए । सबै बालबालिका विद्यालयको पहुँचमा नभएको, भौगोलिक विकटता रहेकाले पनि अभियान सञ्चालन गर्दा विषेश योजना बनाउनुपर्नेमा प्रजिअ खड्काले जोड दिए । निमित्त जिल्ला समन्वय अधिकारी रवीन्द्र बुढाक्षेत्री, शिक्षा विकास तथा समन्वय एकाइ रुकुमपूर्वका प्रमुख तीलक गौतम टाइफाइड रोग खोपमार्फत निर्मूल पार्ने सरकारको अभियान राम्रो भएको बताउँदै टाइफाइडकै कारण बालबालिका विभिन्न समस्याको शिकार बन्ने अवस्थाको अन्त्य हुँदै जाने बताए ।

प्रतिक्रिया दिनुहोस्