
काठमाडौैं । बीपी राजमार्ग सञ्चालनमा आएको छ । राजमार्ग खुले पनि तत्कालका लागि साना सवारीसाधन मात्र सञ्चालनमा ल्याइएको छ । रोशी खोलामा आएको बाढीले बगाएको स्थानमा डाइभर्सन बनेपछि सवारीसाधन सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले जानकारी दिए ।
उनका अनुसार बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को घुमाउने, रोशी–११ र १२ को माम्तीमा रोशी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन बगाएको थियो भने नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी ११ माम्तीमा पहिरो खसेको थियो ।
चौकीडाँडामा खोलाबाट र खोला भन्दा माथिबाट गरी दुई ठाउँबाट डाइभर्सन बनाइएको छ । अहिले साना सवारीसाधन र दिउसोदेखि सबै खाले सवारीसाधन पूर्ववत रूपमा सञ्चालनमा ल्याउने तयारी छ । ६ चक्के मालवाहक सवारीसाधन, बस तथा मिनीबसका लागि भने अझै केही घण्टा पर्खनुपर्ने भएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।














