
झापा । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले सुरक्षाकर्मीको सुरक्षा गरेमा सुरक्षाकर्मीले आम नागरिकहरूको सुरक्षा गर्न सक्ने हुँदा उनीहरूको गाँस, बास, कपासलगायत आधारभूत आवश्यकतामा ध्यान दिनु सरकारको दायित्व भएको बताएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा उनले सुरक्षाकर्मीको आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए । सो अवसरमा मन्त्री कार्कीले जग्गादाता तथा निर्माणकार्यमा सहयोग पुर्याउने सहयोगीहरुलाई प्रशंसापत्र प्रदान गरेका थिए । प्रदेश नं १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट रु. एक करोड ८८ लाख ८५ हजार ५७७ को लागतमा कार्यालय भवन, ब्यारेक, भान्साघर तथा शौचालयको भवन निर्माण भएको छ । कार्यक्रममा प्रदेश नं १ का प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीले भवनको निर्माणमा प्रत्यक्ष–अप्रत्यक्षरूपमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिए ।
कार्यक्रममा बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटी, प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्रलायका सचिव कालीप्रसाद पराजुली, प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, चारआलीस्थित नेपाली सेनाको नयाँ श्रीनाथ गण चारआलीका प्रमुख सेनानी फणिन्द्र थापालगायतको उपस्थिति थियो ।












