
काठमाडौं । गत चैत ४ गतेको होलीबाट बेपत्ता भई १५ गते शव भेटिएका युवाको हत्या भएको पुष्टि भएको छ ।
वीरगञ्ज–२५ का वर्ष २१ का रामा उपेन्द्र साहको हत्या घाँटी रेटेर गरिएको पुष्टि भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी ओमप्रकाश खनालका अनुसार शवलाई पखालेर हेर्दा घाँटीमा धारिलो हतियारको चोट पाइएको थियो । वीरगञ्ज–१६ ईनर्वामा पर्ने सिर्सिया नदी किनारमा गाडिएको अवस्थामा भेटिएको शव परीक्षण गर्न प्रहरीले नारायणी अस्पतालमा पुर्याएको थियो ।
साहको हत्या शव भेटिएको ठाउँमा नभएर अरुतिरै भएको हुनसक्ने प्रहरीको आशंका छ । शव भेटिएकै दिनदेखि सो घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्न को-को थिए भन्ने विषयमा करिब टुंगोमा पुगिसकिएको भन्दै डिएसपी खनालले संलग्नहरु भारततिर लुकेर बसेका र पक्राउ गर्न भारतीय प्रहरीसँग सहकार्य जारी रहेको जानकारी दिए ।












