
काठमाडौं । नेपाल बार एशोसिएशनमा नयाँ नेतृत्व चुन्नका लागि मतदान कार्य जारी ।
एशोसिएशनको २६ औँ केन्द्रीय कार्यसमितिका लागि नयाँ नेतृत्व छान्न आज बिहान आठ बजेदेखि मतदान सुरु भएको छ । उपत्यकाको काठमाडौं केन्द्रलगायत देशभरका ३५ वटा विभिन्न स्थानमा एकैपटक मतदान सुरु भएको नेपाल बार एसोसिएसन, २०७८ को प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकले बताइन् । उनका अनुसार निर्वाचनबाट अध्यक्षसहित ११ जना पदाधिकारी र बाँकी सदस्य गरी २५ सदस्यीय कार्यसमिति चयन हुनेछ । सो निर्वाचनमा ९ हजार ७०८ जना अधिवक्ता मतदाता छन् । तीमध्ये उपत्यकामा ५ हजार ७०० र उपत्यका बाहिर ३ हजार ५०० छन् ।
नयाँ कार्यसमिति चयन गर्न प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूह र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहबीच प्रतिस्पर्धा भइरहेको छ । उक्त समूहमध्ये प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहको नेतृत्व गोपालकृष्ण घिमिरेले गरेका छन् । आज अपराह्न ४ बजे मतदान कार्य सकिने जनाइएको छ ।












