Logo
Logo

चीनले भन्यो– रेलका लागि नेपालको तयारी पुगेन


- दृष्टि न्युज/संवाददाता


काठमाडौ , ६ अषाढ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिनजसो रेलवे कनेक्टिभिटीमा जोड दिए पनि चिनियाँ पक्षले नेपालले गर्नुपर्ने न्यूनतम तयारीसमेत नगरेको बताएको छ ।

बेइजिङमा बिहीबार सम्पन्न नेपाल–चीन रेलवेसम्बन्धी चौथो बैठकमा चीनले केरुङ–काठमाडौं जोड्ने चिनियाँ रेलवेको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा छलफल गर्नुअघि मूलभूत तयारीका पाँचवटा बुँदामा टुंगोमा पुग्नुपर्ने प्रस्ताव राख्यो ।

चिनियाँ पक्षले राखेका पाँच बुँदामध्ये पहिलोमा पूर्वसम्भाव्यता अध्ययनको गुणस्तर कायम गर्नेबारे गहन अध्ययन जरुरी भएको उल्लेख छ । चिनियाँ पक्षले नै पूर्वसम्भाव्यता अध्ययन गरी प्रतिवेदन नेपाल सरकारलाई बुझाइसकेको छ । यसमा विशेषगरी प्राविधिक अध्ययन अनुसन्धानको खाँचो चिनियाँ पक्षले औंल्याएको छ । आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

दोस्रो बुँदामा इन्जिनियरिङ पक्षका चुनौती कसरी सामना गर्ने भन्नेमा तयारी हुनुपर्ने र तेस्रो बुँदामा भौगर्भिक प्रकोपबाट उत्पन्न चुनौती न्यूनीकरण कसरी गर्ने भन्ने विषयमा गहन अध्ययन हुनुपर्नेमा जोड दिइएको छ । त्यस्तै चौथो बुँदामा रेलवेको सुरक्षामा अपनाउनुपर्ने उपायबारे अझै छलफल हुनुपर्ने र पाँचौं बुँदामा पर्यावरणमा पर्ने असर न्यूनीकरणमा वैज्ञानिक र प्राविधिक अध्ययन जरुरी भएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्