मोरङ । परम्परागत परिकारको प्रवर्द्धन गर्ने उद्देश्यले धिमाल जातीय विकास केन्द्रले चिचिरी–गेन्द्रो दिवस–२०७८ को आयोजना गरेको छ । मोरङको उर्लाबारीमा शनिवार आयोजित उक्त दिवसको उद्घाटन प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङले गरेका छन् ।

त्यसक्रममा प्रदेश प्रमुख खापुङले फेस्टिभलले नेपालभित्रको नेपाली मौलिकतालाई विश्वभर पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । धिमाल जातीय विकास केन्द्रका उपाध्यक्ष केदार धिमालका अनुसार चिचिरी–गेन्द्रोमा धिमाल समुदायले परापूर्वकालदेखि दैनिकरुपमा प्रयोगमा ल्याइरहेका खानाका परिकारलाई प्रवद्र्धन गर्ने गरिन्छ ।
एक दिवसीय धिमाल फुड फेस्टिभलमा धिमाल जातिका २० प्रकारका खानाका स्टलहरु राखिएका थिए । सो अवसरमा धिमाल कलाकारहरूले आफ्नो जातीय पहिचान झल्काउने विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
के हो चिचिरी ?
आदिवासी धिमाल जातिले चामलबाट पकाएर बनाइने खानालाई चिचिरी र चामलको पिठोबाट बनाइने परिकारलाई गेन्द्रो भनिन्छ । खास गरी विवाह गरेकी चेली माइत आउँदा कोसेलीको रुपमा यो परिकार ल्याउने गरिन्छ ।
माइत आएकी चेली र ज्वाईंलाई स्वागतका लागि गेन्द्रो खुवाउने चलन छ । गेन्द्रो सोही चामलको पिठोबाट पातमा बेरेर पानीमा राखेर उमालेर पकाउने गरिन्छ । अरुभन्दा विशेष भएका कारण धिमाल जातिले फुड फेस्टिभलको नाम नै चिचिरी–गेन्द्रो राखेका हुन् ।












