Logo
Logo

प्रदेश १ मा मन्त्रिपरिषद्को ९ महत्वपूर्ण निर्णय


1.6k
Shares

विराटनगर । प्रदेश नं. १ सरकारको सोमवार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगका पदाधिकारी नियुक्ति गर्नेलगायतका विविध निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेलाई प्रवक्ता तोक्ने निर्णय गरेको हो ।

प्रदेश नं. १ सरकारका नवनियुक्त प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री घिमिरेका अनुसार उक्त बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षलगायत सदस्यहरूको नियुक्ति गर्ने निर्णय गरेको छ । बैठकले पाँचथरका डा. पूर्ण लोक्सोमलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । लोक्सोम यसअघि प्रदेश योजना आयोगको सदस्य थिए । त्यस्तै आयोगका अन्य सदस्यहरूमा डा. ज्ञानेन्द्रबहादुर कार्की(संखुवासभा), नारायण कोइराला(सुनसरी), प्रकाश राई(भोजपुर) र अञ्जु खड्का(मोरङ)लाई नियुक्त गर्ने निर्णय गरिएको मन्त्री घिमिरेले बताए ।

सो बैठकले प्रदेश प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा विष्णुकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्ष र सदस्य सचिवलाई हटाउने निर्णय गरेको छ । यसैगरी सगरमाथा टिन्स क्लब (सञ्चालन तथा व्यवस्थापन) कार्याविधि– २०७५ लाई संशोधन गरी सो सम्बन्धमा बनेको नयाँ कार्याविधि–२०७८ स्वीकृत गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले स्मृति प्रतिष्ठान, फाउण्डेसन र अध्ययन केन्द्रलाई अनुदान रकम प्रदान गर्ने सम्बन्धी कार्याविधि–२०७८ स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्