
विराटनगर । प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारी नियुक्त गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले बोर्डको उपाध्यक्ष र सदस्य सचिव नियुक्ति गर्ने निर्णय गरेको हो । प्रदेश नं. १ सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्ष जीना कार्की (विराटनगर, मोरङ) र सदस्य सचिव हंशराज वाग्ले(ज्यामिरे, ओखलढुंगा) लाई नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारीले सन्तोषजनक काम गर्न नसकेकाले उनीहरूलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । त्यस्तै, बैठकले केही आयोजनाहरूलाई राष्ट्रिय प्राथमिकताका आयोजनाका रुपमा तोक्ने निर्णय गरेको प्रदेश नं. १ सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री घिमिरेले जानकारी दिए ।











