Logo
Logo

१०० कम्पनीको नक्कली भ्याट बिलः साढे ७ अर्ब कर छली


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , ८ अषाढ ।
राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल बनाउने एक सय कम्पनीमाथि गरेको अनुसन्धानबाट करिक साढे ७ अर्ब रुपैयाँ कर छली भएको प्रारम्भिक निष्कर्ष निस्किएको छ ।

ती कम्पनीबाट नक्कली बिल खरिद गर्ने झण्डै एक हजार कम्पनीको हिसावकिताव जोड्दा कूल कर छली १५ अर्ब रुपैयाँ पुग्छ । ०६७ सालको नक्क्ली भ्याट बिल प्रकरणमा झण्डै साढे ६ अर्ब कर छली भएको थियो । आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले अहिलेसम्म नक्कली भ्याट बिल बनाउने ३२ वटा कम्पनीका सञ्चालक र कर्मचारीविरुद्ध मुद्दा दायर गरिसकेको जानकारी दिए । ‘अन्य ४५ कम्पनी छानबिनका क्रममा छन्,’ उनले कान्तिपुरसित भने, ‘अदालतमा गइसकेको मुद्दामै बिगोको आकार करिब ५ अर्ब रुपैयाँ पुगिसकेको छ । अरू कम्पनीको अनुसन्धान सकिँदा यो अंक सहजै साढे ७ अर्ब रुपैयाँ पुग्छ ।’ नक्कली बिल उत्पादन गर्ने कम्पनीसँग बिल खरिद गर्ने कम्पनीमाथि छानबिन हुँदा थप त्यति नै राजस्व चुहावट भएको भेटिने विभागका अधिकारीहरूको भनाइ छ ।

राजस्वले पहिलो चरणमा २४ र दोस्रोमा ८ गरी ३२ वटा कम्पनीका सञ्चालक र कर्मचारीविरुद्ध मुद्दा दायर गरेको हो । विभागले अनुसन्धानका क्रममा भेटिएका थप ४५ वटा कम्पनीमाथि पनि अनुसन्धान सुरु गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्