काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नं. १ को चाल्नाखेलस्थित वोसनमा केवुलकार सञ्चालनमा आउने भएको छ । चम्पादेवी ईको फ्रेण्डली कम्पनी प्रालिले पत्रकार सम्मेलनको आयोजना गरी केवुलकार सञ्चालन गर्न लागिएको जानकारी गराएको हो ।

कम्पनीका तर्फबाट सञ्चालक कमलेशकुमार अग्रवालले केवुलकार सञ्चालनका लागि आवश्यक प्राविधिक कार्य पूरा भएकाले निर्माणको प्रक्रिया सुरु हुने बताए । उनका अनुसार अबको तीन वर्षमा निर्माण कार्य सम्पन्न भई सो केवुलकार सञ्चालनमा आउने छ । कम्पनीका अनुसार सो परियोजनाका लागि चम्पादेवी माताको मन्दिर रहेको डाँडाहरु गरी करिब बाइस हेक्टर वन क्षेत्र नेपाल सरकारबाट प्राप्त भएको छ । केही प्राविधिक एवं कानुनी अवरोधहरुको निकास सर्वोच्च अदालतबाट निस्किएसँगै यो परियोजनाको कार्य तीव्रगतिले अघि बढेको कम्पनीले जनाएको छ ।
उक्त परियोजना अघि बढाउन दक्षिणकाली नगरपालिकाको ७१ औँ नगर कार्यपालिकाको निर्णय अनुसार केवुलकार निर्माण तथा सञ्चालन अनुमति प्राप्त भएको थियो । सो कम्पनीले केवुल कार सञ्चालनका लागि डिजाइन अस्ट्रियन कम्पनीबाट तयार गरिएको जनाएको छ । कम्पनीका अनुसार उक्त केवुलकार युरोपियन हुनेछ । कम्पनीले चम्पादेवी माताको मन्दिरको डिजाइन वरिष्ठ आर्किटेक र वास्तु विशेषज्ञ शंकरनाथ रिमालबाट गराएको छ । उक्त केवुलकार प्रोजेक्ट निर्माणका लागि ५ सयदेखि ६ सय करोड लागत पूर्वानुमान गरिएको कम्पनीले जनाएको छ ।
केवुलकार सञ्चालनका लागि आवश्यक तयारी २०७९ को अन्त्यमा सुरु गरी २०८१ को अन्त्यमा सम्पन्न हुने कम्पनीको भनाइ छ । कम्पनीले विदेशी लगानीकर्ता समेत भित्र्याउने लक्ष्य लिएको जनाइएको छ ।












