Logo
Logo

नेपाल वन्दको विकल्प खोज्नुहोस् कामरेड


- दृष्टि न्युज/संवाददाता


कसैमाथि अन्याय अत्याचार हुँदा त्यसका विरुद्ध प्रतिरोध हुनु अनिवार्य नियम हो । अन्यायमा परेकाले आफ्नो प्रतिरोध क्षमता, उत्पीडकको दमन क्षमता तथा अन्य सामाजिक राजनैतिक आर्थिक आदि परिस्थितिमाथि ध्यान दिएर प्रधिरोधका विविध उपाय अपनाउने गर्छ ।

सन्दर्भ यही असार १० गतेको नेपाल वन्दको कार्यक्रम हो । विप्लव नेतृत्वको नेकपाले यसको आह्वान गरेको छ । सर्लाहीमा सो पार्टीका इन्चार्ज कुमार पौडेललाई गिरफ्तार गरेपछि राज्यले मुठभेडको नाममा हत्या गरेको छ । सरकारले मुठभेड भनेपनि त्यहाँका जनताले सो नक्कली मुठभेड भएको र गिरफ्तार गरेपछि हत्या गरेको वताएको समाचार संचार माध्यम र सामाजिक संजालमा व्यापक भैरहेको छ । स्वयम् सत्ता पक्षका नेताहरुलेपनि सो हत्याकाण्डको भत्सर्ना गरेका छन् । सो हत्याकाण्ड राज्यले गरेको गैर कानूनी अपराध हो । यसका विरुद्ध सो पार्टीले संघर्षको कार्यक्रम राख्नु स्वाभाविक प्रतिरोधको तरिका हो ।

तर विद्रोही नेकपाले आफ्ना कार्यकर्ताको हत्या हुँदा, गैरकानूनी गिरफ्तारी हुँदा तथा आफ्नो पार्टीमाथि सरकारले दमन गर्दा नेपाल वन्दको तरिका मात्र अपनाउँदै आएको छ । सधैं एउटै खाले संघर्षको कार्यनीति प्रयोगले के कस्तो असर परेको छ भनेर जनस्तरमा बुझ्न आवश्यक छ । जनतामा वारम्वारको वन्द कार्यक्रमले रामं्रो असर छोडेको छैन । यसले विद्रोही नेकपाको विरुद्ध नै जनमत वन्ने सम्भावना वढ्ने हुन्छ । नेपाल वन्द भनेको जनविद्रोहको उच्च स्वरुप हो । यसको वारम्वार प्रयोग गरेर यसलाई हल्काफुल्का वनाउनु हुन्न ।

जनताको स्वैच्छिक समर्थन र जनप्रदर्शनको बलमा नेपाल वन्द गर्न सक्ने स्थितिमा पुग्न अनेकौं चरण पार गर्नु पर्ने हुन्छ । तर अहिलेको स्थितिमा केही साना ठुला बल प्रयोग गरेर नेपाल वन्द जस्तो उच्च स्तरको कार्यक्रमलाई जनसहभागीता विना वारम्वार गरिरहनु भनेको पछि गएर नकारात्मक प्रभाव दिने माध्यम वन्न सक्दछ । त्यसैले वेलैमा सतर्क रहनु पर्दछ ।

जनताले अहिले भ्रष्टाचारीहरुका विरुद्ध जनकारवाही खोजेका छन् । किनभने पंचायतकाल र कांगे्रसकालमा भन्दा पनि ठुला भ्रष्टाचार काण्डहरु भैरहेका छन् । जताततै भ्रष्टाचार वढेको छ । तर सरकारले भ्रष्टाचारीहरुका विरुद्ध कारवाही गर्ने नाटक मात्र गरिरहेको छ । ठुला माछा सरकारले पक्रन सक्दैन । सानातिना भूराहरु पक्रेर नाटक गर्ने सरकारको तरिकावाट जनता वाक्क भएका छन् । विप्लव नेतृत्वको विद्रोही नेकपाले यस्ता काम गरोस् भन्ने जनताको चाहना देखिन्छ ।

तश्करीतन्त्र झन् मौलाएको छ । सरकारी निकायहरु नै तश्करहरु संग मिलेको प्रमाण वारम्वार सार्वजनिक भैरहेको छ । जनताले त्यस्तो तश्करीतन्त्रका विरुद्ध विद्रोही नेकपा लागोस् भन्ने चाहन्छ । शिक्षा र स्वास्थ्य निशुल्क भनेर संविधानमा लेखिएको छ । तर सरकारले यहाँपनि माफियाहरुलाई प्रश्रय दिइरहेकोछ । विद्रोही नेकपाले संविधानमा लेखिएको जनअधिकार लागु गरोस् भन्ने कुरा जनता चाहन्छ । संघर्षका नयाँ नयाँ रुप र तरिकाहरु वारे विद्रोही नेकपाले सोचोस् भन्ने जनताको चाहना देखिन्छ ।

तर जहिलेपनि वन्द मात्र भन्ने नकारात्मक छाप जनतामा व्यापक रुपमा वढ्न थाल्यो भने यो घातक सिद्ध हुनेछ । तसर्थ नेपाल वन्द जस्ता संघर्षका रुपहरुको विकल्प सोच्न जरुरी छ । यसले जनताको परिवर्तनको चाहना तथा देशको आमूल परिवर्तनमा सहयोग नै गर्ने हुन्छ ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्