काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकाका राष्ट्रपति जो बाइडेनबीच भर्चुअल माध्यमबाट वार्ता भएको छ । प्रधानमन्त्री मोदीका अनुसार आफूहरुबीच रुस र युक्रेन युद्धको विषयमा केन्द्रित रहेर वार्ता भएको हो ।

‘आज हाम्रो अन्तक्र्रिया यस्तो समयमा भइरहेको छ, जुन अवस्थामा युक्रेनप्रति सर्वत्र चासो छ । केही साताअघि २० हजारभन्दा बढी भारतीयहरू युक्रेनमा फँसेका थिए । तीमध्ये अधिकांश युवा विद्यार्थी थिए ।’ युक्रेन संकट अन्त्यको आह्वान र शान्तिको मार्गतर्फ अगाडि बढ्न आग्रह गर्दै मोदीले भने, ‘मैले युक्रेन र रुसका राष्ट्रपतिहरूसँग धेरैपटक टेलिफोनमा कुरा गरेको छु । मैले उनीहरूलाई शान्तिको अपील मात्र गरिनँ, बरु राष्ट्रपति पुटिनलाई युक्रेनी राष्ट्रपतिसँग प्रत्यक्ष वार्ताका लागि सुझावसमेत दिएको छु । ’
भारतले युक्रेन र अन्य छिमेकी देशहरूमा औषधि र अन्य राहत सामग्री पठाएको प्रधानमन्त्री मोदीले बताए । भारतले युक्रेनमा अर्को औषधिको खेप पठाउने भएको छ ।














