भक्तपुर । मोटरसाइकल दुर्घटनामा परी चार महिने शिशुको मृत्यु भएको छ ।
बाग्मती प्रदेश ०२–०२१ प ६७६२ नं.को मोटरसाइकल भक्तपुरको नलिञ्चोकमा दुर्घटना हुँदा शिशुको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साँगाबाट जगातीतर्फ आउँदै गरेको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–१ का बुद्ध तामाङ र सुस्मिता तामाङकी चार महिनाकी छोरी लोसाङ डोल्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते शिशुलाई सिद्धि स्मृति अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि न्यूरो अस्पताल पुर्याइएको थियो । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार त्यहाँ उपचारका क्रममा उनको मृत्यु भएको हो । दुर्घटनामा तीनै जना घाइते भएका थिए । मृतक शिशुका बुवा बुद्ध र आमा सुस्मिता उपचार पछि डिस्चार्ज भइसकेका छन् ।














