Logo
Logo

विप्लव समूहको बन्द : कहाँ कस्तो प्रभाव ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १० असार । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको नेकपाले आह्वान गरेको बन्दको प्रभाव उपत्यकामा आंशिक मात्र देखिएको छ । आज (मंगलबार( बिहानैदेखि यातायात सञ्चालनमा छन भने बजार खुलेको छ । विद्यालय तथा शिक्षण संस्थाहरु बन्द रहेका छन् ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोकटीका अनुसार उपत्यकामा निर्वाधरुपमा सवारी साधन सञ्चालनमा रहेको छ ।
बन्दकै क्रममा मंगलबार बिहान कीर्तिपुरमा शंकास्पद वस्तु भेटिएको थियो । कीर्तिपुरको नयाँ गेट नजिकै सार्वजनिक स्थानमा बोतलमा माटो भरेको अवस्थामा त्रास फैलाउन उक्त वस्तु राखिएको प्रहरीले जनाएको छ ।
उपत्यकामा प्रभाव खाशै नपरेपनि उपत्यका बाहिर बन्दले प्रभाव पारेको छ ।
बर्दियामा दुई वटा प्रेसर कुकर बम फेला परेको छ । सदरमुकाम गुलरिया नगरपालिकास्थित हुलाकी मार्गअन्र्तगत डिभिजन बन कार्यालयनजिक तथा पूर्व–पश्चिम राजमार्गको कर्तनिया चोकमा कुकर बम भेटिएका हुन् ।

फोटो अन्नपूर्णबाट

बन्दलाई लक्षित गर्दै सडकमा बम राखेको हुनसक्ने प्रहरीको आशंका छ । बम भेटिएका स्थानमा कडा सुरक्षा दिइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका निमित्त प्रमुख डीएसपी मदनजीत महराले बताएका छन् । नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निक्रिय गरेको छ । बन्दका कारण बर्दियाको जनजीवन प्रभावित बनेको छ । बिहानैदेखि सवारी साधन चलेका छैनन् ।
त्यस्तै, सोमबार राति अछामका दुईवटा वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । पन्चदेवल विनायक नगरपालिकाको ३ र ढकारी गाउँपालिकाको ५ नम्बर वडामा आगजनी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी जनकबहादुर शाहीले जनाएका छन् ।
पन्चदेवल बिनायकको ३ नम्बर वडामा राति २ बजेको समयमा आएको करीब ५÷६ जनाको समूहले पेट्रोल छर्केर आगजनी गरेको स्थानीयको भनाइ छ ।
यस्तै, नेकपा विप्लव समूहले आह्वान गरेको नेपाल बन्द सफल पार्न काभ्रेका विभिन्न ठाउँमा बम राखेर जनजीवन प्रभावित पार्ने काम भएको छ ।
बन्दको प्रभाव देखाउन विभिन्न ठाउँमा बमजस्तै देखिने शंकास्पदवस्तु राखेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी दिपक गिरीले बताएका छन् । पनौती र धुलिखेलमा शंकास्पद राखिएको र नेपाली सेनाको टोलीले बिहानै डिस्पोज गरिसकेको छ ।
तर्साउनको लागि मात्र बियरको बोतलमा बालुवा भरेर कतै कुकरमा भुस भरेर राखेको पाइएको डिएसपी गिरीले बताएका छन् । धुलिखेल नगरपालिकास्थित हस्पिटल चोकमा, पनौती नगरपालिको खोपासी जाने पोल र पनौती बसपार्क चोकमा शंकास्पद प्रेसर कुकर र बियर बोतल बम फेला परेको पनि जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएका छन् ।
प्रहरी मुडभेडमा मारिएका सर्लाही इन्चार्ज कुमार पौडेलको हत्याको विरोधमा चन्द समूहले बन्द आव्हान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्