Logo
Logo

उद्योग विभागमा सेटिङ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । दस करोडसम्म पुँजीका उद्योग दर्ता गर्ने, ट्रेडमार्क दर्ता गर्ने लगायतका जिम्मेवारी प्राप्त उद्योग विभागले घरेलु तथा साना उद्योग विकास समितिले गर्दैआएको औद्योगिक प्रदर्शनीको सानो स्केलको बजेटमा पनि लोभ देखाएर खोसेको छ । समितिले घरेलु उत्पादनका कक्ष राखी गर्दैआएको प्रदर्शनी यो बर्षदेखि उद्योग विभागले गरेको छ । ५० लाख रुपैयाँको बजेट प्रदर्शनीका लागि हरेक बर्ष घरेलु तथा साना उद्योग विकास समितिलाई सरकारले दिंदैआएको छ । तर यो बर्ष उक्त बजेटमा उद्योग विभागका महानिर्देशक विनोद सिंहले आँखा लगाएर हडपेका छन् ।

उद्योग विभागका महानिर्देशक विनोद सिंहले उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई प्रभावमा पारेर प्रदर्शनीको जिम्मा आफ्नो मातहत ल्याए । तर उद्योग विभाग आफैंले औद्योगिक प्रदर्शनी घरेलु तथा साना उद्योग महासंघ नामक एनजीओलाई दिएको छ । कमिसन खान सजिलोका लागि एनजीओमार्फत् कार्यक्रम गरिएको आरोप महानिर्देशक सिंहमाथि छ । एनजीओले ५० लाखमा २० लाख बजेट पनि खर्च नगरी अरु बिल मिलाएर महानिर्देशकलाई भागबण्डा गरी प्रदर्शनी सकिएको छ । औद्योगिक प्रदर्शनीको नाममा एनजीओलाई कार्यक्रम गर्न दिएका सिंहले घरेलु तथा साना उद्योग विकास समितिका कसैलाई पनि बोलाएका थिएनन् ।

विभिन्न जिल्लाको एलडीओ र तीनवटा जिल्लाको प्रमुख जिल्ला अधिकारी हुँदै उद्योग विभागको महानिर्देशक भएका महानिर्देशक विनोद सिंहका बिरुद्ध अख्तियारमा अकूत सम्पत्तिको उजुरीमा छानबिन पनि भइरहेको छ । उनले ट्रेडमार्क शाखाका निर्देशक प्रेम लुईटेल, अनुमति तथा दर्ता शाखाका निर्देशक विष्णु ज्ञवाली र एकलविन्दु शाखाका प्रमुख विनोद खड्कामार्फत् घुसको सेटिङ गर्दैआएका छन् । उद्योग विभागमा सेटिङ मिलेका फाइल खुरुखुरु काम हुने तर सेटिङ नमिलेका फाइल मन्त्रालय पठाई दुःख र सास्ती दिने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्