सुनसरी । आसन्न स्थानीय तह निर्वाचनका लागि धरान उपमहानगरपालिकामा चार दलीय गठबन्धनबीच प्रमुख र उपप्रमुखसहित सबै वडामा भागबण्डा मिलेको छ ।
धरान उपमहानगरमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य र नगरसभा सदस्य पदमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबीच यही ३० गते हुने स्थानीय निर्वाचनमा वडा तहसम्मको सबै पदमा भागबण्डा मिलेको हो ।

चार दलीय सहमतिअनुसार कांग्रेसले प्रमुखसहित वडा नम्बर १, २, ५, ६, ७, ८, ९, ११, १२, १३, १४, १६ र १८ को अध्यक्ष पाउने भएको छ । यस्तै नेकपा माओवादी केन्द्रले उपप्रमुखसहित वडा नम्बर ३, १५, १७ र २० को अध्यक्ष पाउने भएको छ । यसैगरी जनता समाजवादी पार्टीले वडा नम्बर १० र १९ पाउने भएको छ भने नेकपा एकीकृत समाजवादी पार्टीले वडा नम्बर ४ को अध्यक्ष पाउनेगरी सहमति भएको हो ।
चार दलीय सहमतिपछि संयुक्त वक्तव्यमा भनिएको छ, ‘धरानको समग्र विकास सबैको सहमतिमा गर्ने अठोटका साथ भएको यो गठबन्धनका सबै उमेदवारलाई विजयी गराइ नेपालको पुरानो ऐतिहासिक उपमहानगरपालिकाको समग्र विकासको अगुवाइ गर्ने कार्यमा सबै दल सम्बद्ध नेता कार्यकर्ता, आम मतदाता र सञ्चार क्षेत्रका सबै सञ्चारकर्मी साथीहरुलाई सहयोगका लागि हार्दिक अपिल गर्दछौँ ।











