काठमाडौं । नेकपा एमालेबाट काठमाडौंमा मेयरका उम्मेदवार बनेका केशव स्थापितलाई सार्वजनिक कार्यक्रममा प्रश्न गर्दा स्थापितबाट अभद्र शब्दसहित गालीको सामना गरेका एक युवाले एमालेका महिलालाई महिला हकहित लागि भन्दै सडकमा नआउन सुझाव दिएका छन् ।

काठमाडौंको एक कलेजले काठमाडौंका मेयर उम्मेदवारसँग गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी भावना राउतले स्थापितसँग यौन दुव्र्यवहारसँग सम्बन्धित प्रश्न गरेका थिए । उक्त प्रश्नको सहज जवाफा दिँदै प्रतिरक्षा गर्नुपर्नेमा स्थापितले प्रश्नकर्ता राउतलाई अभद्र शब्द प्रयोग गर्दै थर्काएका थिए । उक्त घटनापछि फेसबुकमा स्टाटस लेख्दै भावनाले एमालेका महिला सांसदलाई महिला अधिकारका लागि सडकमा नआउन भनेका हुन् ।
अझै यस्तालाई नेता भन्ने ? भन्दै प्रश्न गरेका राउतले एमाले भित्रका महिला नेतृत्वको मौनताका कारण दुर्घटना निम्तिएको समेत भनेका छन् ।
राउत लेख्छन्- ‘नेसनल क्लेजले आयोजना गरेको कार्यक्रममा मैले ‘मिटु’बारे प्रश्न गर्दा केशव स्थापितको उत्तर, ‘तपाईको फेश नाईस छ, थुतुनो भएन ।’ अझै यस्तालाई नेता भन्ने ? एमालेका महिला सांसद अधिकारकर्मीहरु बिन्ती अब महिला हकहितका लागि भन्दै सडक नआउनु होला । किनकि, तपाईंको पार्टीभित्रको मौनताले दुर्घटना निम्ताएको छ ।’
नेकपा एमालेले काठमाडौंमा मेयरको उम्मेदवार बनाएको स्थापितलाई यौन दुर्व्यवहारसम्बन्धी आरोप छ । अयसघि मेयर हुँदा स्थापितले महानगरका एक कर्मचारी र एक पत्रकारलाई यौन दुर्व्यवहार गरेको आरोप छ ।
स्थापितबाट पीडित दुवैले सन २०१८ मा चलेको ‘मि टु’ अभियानका क्रममा स्थापितबाट यौन दुर्व्यवहार भएको सार्वजनिक गरेका थिए ।
यौन दुर्व्यवहारको आरोप लागेका स्थापितलाई एमालेले मेयरको उम्मेदवार बनाएपछि महिला अधिकारकर्मी र सर्वसाधारणबाटै एमालेको आलोचना भइरहेको छ ।












